१५ चैत्र २०८०, बिहीबार
Follow Us

कम्युनिष्टले देशमा लुट मच्चाए: रामचन्द्र पौडेल

sarusaru
१५ बैशाख २०७६, आईतवार ०२:५५

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टले देशलाई समृद्ध बनाउन नसक्ने दाबी गरेका छन्। कम्युनिष्टले देशमा लुट मच्चाएकोले कम्युनिष्टबाट देशलाई बचाउन उनले आग्रह गरे।

रौतहटमा शनिबार कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले कम्युनिष्टले देश विकास र लोकतन्त्र संस्थागत गर्न नसक्ने दाबी गरे। ‘कम्युनिष्टले लुट मच्चाए। यो शासनबाट नेपालीको भलो हुँदैन,’ उनले भने, ‘विकासको नाममा कम्युनिष्टले देशलाई भ्रष्टाचारको अखडा बनाए।’

विश्वबाट हराइसकेको कम्युनिष्टले नेपालमा दुई तिहाइसहित सरकार चलाएको भन्दै उनले कम्युनिष्टबाट देशलाई बचाउने बेला आएको बताए। केपी ओली नेतृत्वको सरकार काण्डै काण्डमा फसेको पौडेलले आरोप लगाए।

‘बालुवाटारकाण्ड, खुलामञ्चकाण्ड, निर्मलाकाण्ड, वाइड बडि काण्डलगायत यो सरकार काण्डै काण्डको सरकार हो,’ उनले भने। सरकारले जनतामा देखाएको सपना अनुसार बर्षदिनमा एउटै काम नगरेको उनको भनाइ छ।

उनले कांग्रेसभित्र एकता कायम राख्न छिटो १४ औं महाधिवेशन गर्नुपर्नेमा जोड दिए। ‘कांग्रेसलाई सुधार गर्नुपर्ने छ। नयाँ जीवन दिनुपर्नेछ,’ उनले भने, ‘अहिलेको नेतृत्वबाट यो संभव देखिएको छैन। छिटो महाधिवेशन गर्नुपर्छ।’

उनले मधेशकेन्द्रीत दलहरुलाई संविधान संशोधनको मुद्दा किन छाडेको भनेर प्रश्न पनि गरे। ‘मन्त्रीको लोभमा राजपा र संघीय समाजबादी फोरम लागे,’ उनले भने, ‘संविधान संशोधन गर्न नमान्ने केपी ओलीलाई यिनीहरुले सघाइरहेका छन्। राजपा र फोरमलाई पनि सत्ता र कुर्सी चाहिएको रहेछ।’
सेतोपाटी