१२ बैशाख २०८१, बुधबार
Follow Us

बार्सिलोनालाई स्पेनिस ला लिगाको उपाधि

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०७६, आईतवार ०६:२१

कप्तान लियोनल मेम्सीको एक मात्र निर्णायक गोलसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ । बार्सिलोना तीन खेल अगावै च्याम्पियन बनेको हो । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले लिभान्तेलाई १–० गोलले हरायो ।

घरेलु मैदान क्याम्प नोउमा भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनालाई जिताउन कप्तान मेस्सीले ६२औं मिनेटमा गोल गरे । दोस्रो हाफको सुरुमा फिलिप कोउटिन्होको स्थानमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मेस्सीले अर्टुरो भिडालको पासमा गोलगर्दै बार्सिलोनालाई च्याम्पियन बनाएका थिए । बार्सिलोनाले पछिल्ला ११ बर्षमा जितेको यो आठौं उपाधि हो । बार्सिलोनाको समग्रमा २६औं ला लिगा उपाधि हो ।

खेलभर लिभान्तेलाई दबाबमा राखेपनि बार्सिलोनालाई गोल गर्न कठिन परेको थियो । ८९औं मिनेटमा इनिस बार्धीको प्रहार पोस्टमा लागेर फर्किएपछि लिभान्ते बराबरी गर्नबाट चुकेको थियो ।

यस जितसँगै च्याम्पियन बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडलाई ९ अंकले पछि पारेको छ । बार्सिलोनाले ३५ खेलबाट ८३ अंक बनाएको छ । एट्लेटिको म्याड्रिडको समान खेलबाट ७४ अंक छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले रियल भालाडोलिडलाई १–० गोलले हराएको थियो । भालाडोलिडका जोयकिन फर्नान्डेजले ६६औं मिनेटमा गरेको आत्मघाती गोल नै एट्लेटिकोको जितमा प्रयाप्त बन्यो ।