गोपी ढकाल ।

हिन्दू भनेको सत्य र चेतनाका लागि सुन्दर ज्ञानको रहस्योद्घाटन गर्ने प्रकटीकरणको द्वार हो । हिमालयदेखि हिन्द महासागरसम्म फैलिएको सभ्यता हो । जीवन पद्धति हो, जीवन दर्शन हो । मोक्ष प्राप्ति नै हिन्दूत्वको, यसै जीवन दर्शनको मूल मन्त्र हो, मूल उद्देश्य हो । किन्तु सिंहदरबार छिर्ने अनि भ्रष्टीकरणको द्वार बनाउने मक्सद हिन्दू हुन सक्तैन ।

वास्तवमा हिन्दू दर्शनमा कुनै बन्देज छैन, कुनै जबर्जस्ती छैन । यसमा यही, यस्तै मात्र विचार, दर्शन, भगवान मान्नुपर्दछ भन्ने सीमा छैन । समय परीस्थिति, आवश्यकता वा विश्वासका आधारमा आफ्नो देवी देवता जन्माउन, मान्ने सँस्कार हो हिन्दू । चरामा मन बस्यो चरा भगवान भयो । सर्पमा आस्था जाग्यो सर्प देवता भयो ।

यसरी ढुंगा, माटो, रुख, नदिनाला, हावा, आगो, जीव जन्तु, हिमाल र यसै भूमीमा जन्म लिएर असाधारण क्षमता राख्ने राम, कृष्ण, बुद्ध आदि आदि सबै देवता भए । मानव आफैले देवता मान्ने, स्वीकार्ने पद्धति हो हिन्दू । तेत्तीस कोटी देवतामा सबै आकार, प्रकार समावेश छन् । बास्तवमा यस्तो अवधारणा, अभ्यास र विश्वास विश्वका अरू कुनै सभ्यता अर्थात धर्ममा छैन ।

यसमा एउटै मात्र सुत्र, एउटै मात्र नियम वा वाद छैन । यसो हुनै पर्ने, यसो गर्नै पर्ने बाध्यकारी जड छैन । ज्ञाताहरू यसै बताउछन् । यसका आयाम र प्रयोगको अपव्याख्या र कर्मकाण्डीय दुरुप्रयोग नभएको हैन । यद्यपि यो जीवन पद्धति वैज्ञानिक छ, यसका लाभहरू कालजयी छन् ।

यो पक्ष भने साँचो हो हिन्दूत्वका वैज्ञानिक सद्गुण र सिर्जनालाई भौतिक विज्ञानको भाषा बुझ्ने, आजको समाजलाई बुझाउन सक्ने सेतुको अभाव छ । तै यो पवित्र मान्यतालाई तोरमरोड गर्ने, दुरूपयोग गर्ने क्रम जारी छ ।

हिन्दू भनेको उत्पत्तिको इतिहास उषाकालबाट नै आध्यात्मिक अस्तित्ववोधसँग जोडिएर आएको सत्कर्मका लागि गरिएको आव्हान हो । तर घरमा बसेर माला जप्ने, मन्दिर धाउने, पुजापाठ गर्ने अनि पुराण सुन्दै बसेर होइन ‘धर्मका नाममा सिंहदरबार चढ्ने भर्याङ बनाउन सडकमा आइदेउ ’ भन्दै गरिने आव्हान हिन्दू हुनै सक्तैन ।

सधैं सत्य बुझाउने प्रयत्न, चैतन्य वा संज्ञान अनि आनन्दमय ज्ञानको अनुभूति स्पर्श गर्ने सर्वाेत्तम कल्याणको द्वार भनेको नै हिन्दू हो । जसले अरू धर्मलाई पनि स्वागत गर्दछ र इश्वरीय अनुकम्पाबाट कोही पनि वर्जित हुनुहुन्न भन्ने मान्यता समेत राख्दछ । तर एका विहानै आफ्नो कुण्डली ज्योतिषिलाई देखाउदै कहिले आउला फेरि मेरो खाने पालो ? भन्ने मान्यताको सदावहार प्रवृत्ति हिन्दू हुन सक्तैन ।

त्याग र सेवाको मार्गमा तिव्रता दिदै सबैसँंग मिलेर बस्ने, सबैलाई मिलाएर राख्ने अनि एउटै परिवार बनि अघि बढ्न सिकाउने चिन्तन र चरित्रलाई आफु भित्र हृदय आकृति धारण गर्नु भनेको नै हिन्दू हो । तर खान पाउँदा उत्कृष्ट आहार भन्दै अहंकारको डण्डा देखाउने, जब खान मिलेन अनि गोहीको आंशु चुहाउदै सडकमा देखाउने कुनैपनि अतिरञ्जित नौटंकी हिन्दू हुनै सक्तैन ।

यद्यपि माथि जे लेखिए पनि विचाररूपी सुगन्धित माटोमा टेकेर मुद्दा र एजेन्डारूपी बाटोमा बडो कष्टपुर्वक निष्ठा, त्याग र समर्पणका साथ हिड्ने, भिड्ने र लड्ने ९९ प्रतिशत सबैमा सर्वथा नमन गर्दछु ।

परन्तु जो अगुवा हो उसैबाट जानेर होस या अन्जानमा नै भएपनि बाटोमा गोब्र्याउदै हिड्दा सुगन्धित माटो नै दुर्गन्धित बन्यो । त्यसैले नाक थुनेर पछि–पछि हिंड्नु भन्दा पनि दुर्गन्ध हटाई त्यो पवित्र माटोलाई सुगन्धित बनाउनका लागि मात्र सबैसँग याचना गर्दै अनवरत रूपमा लेखिरहेको हो । सत्यमेव जयति !