May 26, 2020
7:04 AM | 11:49 AM

यती नेपाली एसोसिएसन यूके’ को अध्यक्षमा ध्रुव केसी सर्वसम्मत

  28th April 2019 मा प्रकाशित

लन्डन । बेलायतको पुरानो सामाजिक संस्था ‘यती नेपाली एसोसिएसन यूके’ को अध्यक्षमा ध्रुव केसी निर्विरोध निर्वाचित भएका छन् । आइतबार गोल्डेनसीप रेस्टुराँमा, साउथ हयारोमा सम्पन्न अधिवेशनले केसीलाई २९ औं कार्यसमितिका लागि निर्विरोध अध्यक्ष चुनेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा बाचस्पति रेग्मी, उपाध्यक्ष जीवन सेन, महासचिव डा. मुकुन्द बास्तोला, सह-महासचिव कृष्ण पौडेल, कोषाध्यक्ष देव गुरुङ, सामाजिक सचिव जित रानाभाट, सांस्कृतिक सचिव माया केसी, प्रकाशन सचिव काशीराज बोहोरा र सदस्यमा तिलक भट्टराई चयन गरेको छ । रिक्त ६ सदस्य पछि थपिने बताइएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष शशीधर नेपालले आफ्नो कार्यसमिति, निर्वाचन समिति र अधिवेशन सम्पन्न गराउन खटिने समाजसेवी अग्रहजहरु मदन थापा, रामशरण सिम्खडा, हरि केसी, सोलिसिटर राजु थापा, चित्रबहादुर गुरुङ लगायतलाई धन्यवाद दिएका थिए ।

अधिवेशनले तीन संरक्षक र ११ जना सल्लाहकार राख्ने व्यवस्था र अध्यक्षमा उठ्न एक कार्यकाल काम गरेको हुनुपर्ने विधान संशोधन गरेको छ। संस्थामा जम्मा ९७ जना साधारण सदस्य छन् ।

केसी सन् १९८२ देखि यतीको सामाजिक सचिव, कोषाध्यक्ष, ७ वर्ष महासचिव र ५ वर्ष उपाध्यक्ष भएर काम गरिसकेका थिए । सन् १९७४ मा लन्डन आएका केसीले २१ वर्ष नेपाल पर्यटन बोर्डको यूके दूत भएर काम गरे भने उनी नेपलिज क्याटरिङ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष पनि हुन् ।

केसीले यतीले विगतमा मनाउने गरेको मुख्य चाडपर्व, खेलकुद, च्यारिटी गतिविधिलाई निरन्तरता र सदस्यता विस्तार मुख्य प्राथमिकता रहेको बताए ।

यती निर्वाचन गराउन निर्वाचन समिति संयोजक आर के त्रिपाठी, सदस्यहरु उमेशराज मोक्तान र क्याप्टेन रत्न श्रेष्ठ जुटेका थिए ।

सन् १९६० मा स्थापित यतीको संस्थापक अध्यक्ष वरिष्ठ राजनीतिज्ञ पशुपति शमशेर जबरा हुन् ।

प्रतिक्रिया