१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महामारी फैलिएको २० दिनपछि डाक्टर र औषधि बोकेर हुम्ला पुग्यो हेलिकोप्टर

sarusaru
१६ बैशाख २०७६, सोमबार ०२:३५

हुम्लाको ताँजाकोट गाउँपालिकामा रुघाखोकीको प्रकोप रोक्न चिकित्सक र औषधिको टोली पुगेको छ । प्रकोप फैलिएको २० दिनपछि आइतबार सेनाको हेलिकोप्टरबाट चिकित्सक टोली ताँजाकोट पुगेको हो । हालसम्म रुघाखोकीबाट नौजनाले ज्यान गुमाइसकेका छन् । ताँजाकोटमा रुघाखोकीबाट दुई सयभन्दा बढी बिरामी परेका छन् । यहाँ औषधिको चरम अभाव भएको थियो । सदरमुकामबाट ४५ कोस टाढाको यस गाउँमा १९ दिनसम्म कुनै सरकारले डाक्टर र औषधि पठाउन सकेको थिएन । सदरमुकामबाट ताँजाकोटसम्म पैदल पुग्न तीन दिन लाग्छ ।

प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलको आग्रहपछि गृह मन्त्रालयले हेलिकोप्टर पठाएको हो । ‘गृह मन्त्रालयले हेलिकोप्टर उपलब्ध गराएपछि विशेषज्ञ टोली सामाजिक विकास मन्त्रालयले पठाएको हो,’ मन्त्री रावलले भने । औषधि उपकरण र स्वास्थ्यकर्मी लैजान हेलिकोप्टरले सुर्खेतदेखि ताँजाकोटसम्म दुईपटक उडान भरेको थियो ।
डेढ सय बिरामीको जाँच
आइतबार प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतबाट डा. तेजराज भट्टराई नेतृत्वको टोली ताँजकोट पुगेको हो । टोलीमा चार जना डाक्टरसहित ल्याब टेक्निसियन र स्वास्थ्यकर्मी छन् । डा. भट्टराई, डा. केएन पौडेल, डा. केशव अधिकारी र डा. मनोज तिमिल्सिना तथा हेल्थ असिस्टेन्ट बलभद्र यादव, ल्याब असिस्टेन्ट धर्म अधिकारीसहितको टोलीले प्रकोपस्थल पुगेलगत्तै उपचार सुरु गरेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए ।

टोलीले सञ्चालन गरेको स्वास्थ्य शिविरमा आइतबार एक सय ५० बिरामीको जाँच गरिएको छ । तीमध्ये अधिकांशमा रुघाखोकी देखिएको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन् । टोलीले वडा नम्बर २ मा स्वास्थ्य शिविर चलाएको छ भने सोमबार वडा नम्बर १ मा शिविर सञ्चालन गर्ने जनाएको छ । भौगोलिक विकटताले सबै वडामा पुग्न नसकिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

मैला स्वास्थ्यचौकीका अहेव मोतीलाल जैसीले बिरामीको जाँच र नमुना संकलन भइरहेको बताए । ‘बिरामीको नमुना संकलन भइरहेको छ,’ उनले टेलिफोनमा भने, ‘सबैको चेकजाँच सक्न पर्सिसम्म लाग्न सक्छ ।’ गाउँपालिकामा दुई सय ५० भन्दा बढी बिरामी परेका छन् । सोमबारदेखि टोलीले प्रत्येक वडामा पुगेर बिरामी जाँच्ने गाउँपालिका अध्यक्ष बागदल मल्लले जानकारी दिए । मुगुको रातापानीबाट डाक्टर नन्द तिमिल्सिना नेतृत्वको टोली पनि रोग प्रभावित स्थान ताँजाकोटमा खटिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा स्वाइन फ्लु फैलिएको हुन सक्ने अनुमान गरेको छ ।

जुम्लाबाट विशेषज्ञ डाक्टर पठाइने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशेषज्ञ डाक्टर सहितको टोली हुम्लामा पठाउने भएको छ । रुघाखोकीको प्रकोप रोक्न टोली पठाउने तयारी भइरहेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । यसका लागि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरिने पनि उनले बताए । प्रतिष्ठानले प्रदेशभरी नै स्वास्थ्य सेवा दिइरहेको बताउँदै काफ्लेले महामारी फैलिएको ठाउँमा यसअघि पनि आकस्मिक रुपमा औषधि र विशेषज्ञ डाक्टर पठाउने गरेको जानकारी दिए ।

जनतालाई औषधि पु-याउन हेलिकोप्टर उडाउन २० दिन लाग्छ, तर मन्त्रीहरू गोरु जुधाएको हेर्न पनि हेलिकोप्टर चढ्छन्

गृहमन्त्री हेटौँडा पनि हेलिकोप्टरमा गए
गृहमन्त्री रामबहादुर थापा काठमाडौंबाहिर हुने अधिकांश कार्यक्रममा हेलिकोप्टर चढेरै पुग्छन् । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सातै प्रदेशका राजधानी उनी हेलिकोप्टरमा गए । हेटौँडा पनि उनी हेलिकोप्टरबाटै गए । पछिल्लोपटक आइतबार मात्रै उनी सेनाको हेलिकोप्टर चढेर जिल्ला प्रशासन कार्यालय भोजपुरको भवन उद्घाटन गर्न पुगे । त्यहाँबाट इलामको पशुपतिनगर पुगेर अध्यागमन कार्यालयको उद्घाटन गरेर काठमाडौं फर्किएका छन् ।

क्रिकेट पिचमा रक्षामन्त्रीको हेलिकोप्टर
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल गत १७ कात्तिकमा सेनाको हेलिकोप्टर चढेर नेकपा बाराको कार्यालय उद्घाटन गर्न पुगे । उनको हेलिकोप्टर ल्यान्ड गर्न कलैयास्थित सिद्धेश्वर क्रिकेट मैदानमा चलिरहेको जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका दुई खेल नै रद्द गर्न लगाइयो । पिच भत्किएकोले दसैँअगाडि नै सकिनुपर्ने प्रतियोगिता स्थगित भयो, फाइनल खेल दसैँपछि खेलाउनुप¥यो ।
गोरु जुधाएको हेर्न कृषिमन्त्री हेलिकोप्टरमा
कृषिमन्त्री चक्रपाणि खनाल गत १ माघमा धादिङको नीलकण्ठ नगरपालिका खाल्टे फ्याक्सेमा भएको गोरुजुधाइ कार्यक्रम हेर्न हेलिकोप्टर चढेर गए । र ,केहीबेर सम्बोधन गरेर काठमाडौं फर्किए । जब कि, त्यहाँ पुग्न काठमाडौंबाट गाडीमा तीन घन्टा मात्रै लाग्छ ।
नयाँ पत्रिका