८ बैशाख २०८१, शनिबार
Follow Us

छक्का पञ्जाको बेलायतमा नयाँ किर्तिमान

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७३, शुक्रबार ०९:३२

लन्डन । हाँस्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्र ‘छक्का पञ्जा’ ले बेलायतबाट ३० लाख रुपैयाँको व्यापार गरेको छ । बेलायतमा नेपाली चलचित्रले गरेको व्यापार अहिलेसम्मकै ठूलो रकम भएको वितरक कम्पनी नेप्लिज इन्टरटेन्मेन्ट यूकेका वीरेन खड्कले बताए । उनका अनुसार ‘छक्का पन्जा’ ले करिब ३० लाख रुपैयाँ बेलायतमा मात्र संकलन गर्न सफल भएको छ ।

सेन्ड्रस, स्वीन्डन, उलवीच, ग्रीनफोर्ड, अल्डरशट, केन्टलगायतका शहरमा गरिएको प्रदर्शनमा दर्शकको उपस्थिति बाक्लो थियो । ‘निकै राम्रो रेस्पोन्स आइरहेको छ’, खडकाले भने, ‘विभिन्न सिटीमा बस्ने दर्शकले चलचित्र आफ्नो शहरमा पनि ल्याइदिनु पर्यो भनेर आग्रह गरेका छन् । अब स्कटल्याण्ड र वेल्सका दर्शकको मागअनुसार छक्का पञ्जाको प्रर्दशनीको तयारीमा छौ, खड्काले भने । उनले फेलथाम, अक्फोड, टिटोट र क्याटरिक क्षेत्रमा प्रर्दशनीको तयारी भैरहेकाे जानकारी दिए ।

विदेशको ब्यस्ताका बीच बेलायतमा समेत व्यापारमा कृतिमान राख्न सफल भएको सुन्दा निकै खुशी लागेको निर्देशक दीपाश्री निरौलाले बताइन । उनले निकै ठूलो च्यालेन्ज लिएर एकल ब्यानरमा निर्माण गरिएको चलचिलले सोचेभन्दा बढी सफलता पाएको प्रतिकृया दिइन् । आगामी मंसिरपछि मात्र अर्को चलचित्र निर्माणका लागि छलफल थाल्ने निर्देशक निरौलाले जानकारी दिइन् ।

नेपालमा भदौ तेस्रो साता रिलिज भएयता व्यापारमा नयाँ रेकर्ड कायम गरिरहेको ‘छक्का पन्जा’ले बेलायतका बिभिन्न हलमा भएको प्रर्दशनीमा ‘हाउसफुल’ को समेत रेकर्ड राखेको छ । गत आइतवार लन्डनस्थित ग्रिनफोड टाउन हलमा भएको प्रर्दशनीमा दर्शकलाई टिकट पु-याउन नसक्दा हलमा आएका दर्शक त्यसै घर फर्किन बाध्य भएका थिए । खडकाले ग्रिनफोड टाउन हलको शोबाट मात्रै ७ लाख रुपैयाँ संकलन भएको जानकारी दिए ।

वैदेशिक रोजगारीले नेपाली समाजमा भित्रिएको विकृति हाँस्यव्याङ्ग्यमार्फत चलचित्रले कथामा समेटेको छ । उक्त कथावस्तुलाई दर्शकले निकै रुचाए । चलचित्रमा हाँस्यकलाकार केदार घिमिरे (माग्ने बुढा) को प्रस्तुतिबाट लन्डनका दर्शकले भरपुर मनोरञ्जन लिए । उनको प्रस्तुतीलाई धेरै दर्शकले रुचाए ।
देश विदेशमा रहेका दर्शकलाई आगमी दिनमा पनि यस्तै माया र हौसाला प्रदान गर्न निर्दैशक निरौलाले आग्रह गरिन् ।
चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका काकी, शिवहरि पौडेल, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे, वर्षा राउत, दिपक शर्मालगायतले अभिनय गरेका छन् । कलाकारद्वय गिरी र निरौलाको सक्रियतामा यसअघि बनेका ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ ले समेत बेलायतमा निकै राम्रो चर्चा कमाएको थियो । छक्कापन्जा दीपाश्री निरौलाले निर्देशन गरेको पहिलो चलचित्र हो ।