१३ बैशाख २०८१, बिहीबार
Follow Us

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि युएईबाट २२ लाख सहयोग

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७६, सोमबार ०७:४९

युएई । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लागि यो साता युएईबाट २२ लाख जुटेको छ ।
चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निमार्णका लागि युएईमा गत २६ अप्रिलमा आयोजित धर्मुस–सुन्तली साँझ कार्यक्रमबाट २० लाख रुपैयाँ सहयोग प्राप्त भएको कलाकार सिताराम कटेलले बताएका छन् भने युएईकै अबुधाबीमा गायक प्रकाश पौडेलको अग्रसरतामा २ लाख रुपैयाँ छुट्टै संकलन भएको छ ।

गायक पौडेलले अबुधाबीमा रहेका व्यावसायी र सर्वसाधारण नेपालीलाई अबुधाबीको चुलो रेस्टुरेन्टमा गत २७ अप्रिलमा मिट एन्ड ग्रीट कार्यक्रम आयोजना गरी उक्त रकम १ दिनमा सङ्कलन गरी धुर्मुसण्सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेको जानकारी दिएका छन् ।

चितवन समाज युएईको संयोजन र युएईका करिब ४० नेपाली सङ्घसंस्थाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमको प्रारम्भिक हिसाबकिताब सार्वजनिक गर्दै आयोजक समितिका सदस्य मदन अधिकारीले यो जानकारी दिएका हुन् ।

उक्त रङ्गशाला निर्माणमा सहयोग र्पुयाउने लक्ष्य लिएर २६ अप्रिलमा दुबईमा धर्मुसण्सुन्तली साँझ कार्यक्रम भव्यताका साथमा सम्पन्न भएको थियो । दुबईस्थित ग्रान्ड एक्सेलसियर होटलमा सम्पन्न उक्त कार्यक्रममा करिब १ हजार दर्शकहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक संस्था चितवन समाज युएईले बताएको छ ।

कार्यक्रमबाट प्राप्त मुनाफा रकम गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस-सुन्तली फाउन्डेसनलाई चाडै हस्तान्तरण गरिने आयोजकले बताएका छन । उक्त कार्यक्रममा करिब १९ लाख रुपैयाँ मुनाफा भएको र केही रकम संकलन हुन बाँकी रहेका कारण २० लाख रुपैयाँ धुर्मुस९सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिने आयोजक सदस्य अधिकारीले बताएका छन् ।

कार्यक्रममा धुर्मुस, सुन्तली, गायक पुष्पन प्रधान, मेलिना राई, फ्युजन डान्स ग्रुप र युएईमा क्रियाशील नेपाली कलाकारहरूको प्रस्तुती रहेको थियो । धुर्मुस सुन्तलीले नेपालको राष्ट्रिय राजनीति र भ्रष्टाचारलाई व्यंग्य गर्दै सच्चा नागरिक नामको प्रहसन प्रस्तुत गरेका थिए । गायक पुष्पन प्रधानले गाँउ गाउँबाट उठ, पंन्छी लगायतका गीत प्रस्तुत गरेका थिए भने गायिका मेलिना राईले कुटुमा कुटु, गोजीमा दाम छैन, तिमीले माया मारेउ गीतहरू गाएकी थिइन् ।

कार्यक्रममा बोल्दै सिताराम कट्टेल ९धुर्मुस०ले गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय रंगशाला सिंगो देश र जनताको भावना जोडने परियोजना भएको बताए । उनले सरकारको मुख ताकेर बस्दा देश नबनेको भन्दै सामाजिक मोडालिटीको अभियान शुरु गरेको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण परियोजना कमिसन र भ्रष्ट्राचार रहित परियोजना रहेको पनि उनले बताए ।

अनुमानित ३ अर्ब लागतमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेका धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न देशमा गएर कार्यक्रमहरु गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयले सञ्चालन गरिरहेको जग्गा महानगरले रङ्गशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई उपलब्ध गराइसकेको छ ।