११ बैशाख २०८१, मंगलवार
Follow Us

संसदमा बोल्दै नेम्वाङले दिए सिस्टम फेल हुने चेतावनी

sarusaru
१६ बैशाख २०७६, सोमबार १२:३१

काठमाडौं–नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले दलहरुले परिणाम निस्कने गरी काम गर्नुपर्नेमा जोड दिँदै राजनीतिक दलका नेतृत्वप्रति जनता आश्वस्त हुन नसके अहिलेको सिस्टम नै फेल हुनसक्ने चेतावनी दिएका छन् ।
सोमबारदेखि सुरु भएको संसदको बजेट अधिवेशनलाई सम्बोधन गर्दै नेम्वाङले विगतमा भएको आन्दोलनबाट प्राप्त भएका उपलब्धीलाई जोगाइराख्न राजनीतिक दलका नेताहरुले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।
‘दलहरुले परिणाम दिन सकेनन् र जनता पनि आस्वस्त हुन सकेनन् भने सिस्टम फेल हुनसक्छ । जुन आन्दोलनबाट हामीले संयन्त्र खडा गरेका छौं, त्यसलाई सफल बनाउन राजनीतिक नेतृत्वले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ’, सम्बोधनका क्रममा नेम्वाङले भने, ‘ जनताको चाहना र भावना बमोजिम काम गर्न र व्यवहारमा उतार्न हामी क्रियाशिल रहनुपर्छ ।’
परिवर्तनलाई संस्थागत गराउन दलहरु एकजुट हुनुको विकल्प नरहेको पनि नेम्वाङले बताए । ‘सबै प्रकारका आग्रह र पूर्वाग्रहबाट माथि उठेर हामीले काम गर्नुपर्छ, हामी एक ठाउँमा उभिनु पर्छ’, नेम्वाङले भने, ‘निरंकुशताविरुद्ध काम गर्दा एक ठाउँमा उभिनुपर्छ ।’
अब राजनीतिक आन्दोलनको युग सकिएको तर्क गर्दै नेम्वाङले अब समृद्ध नेपाल सुखी नेपालको लागि अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले नेकपा र सरकारले प्रतिपक्षलाई सम्मान गर्ने भन्दै प्रतिपक्षले पनि त्यही अनुसारको भूमिका खेल्नेमा विस्वास व्यक्त गरे ।
‘हामी प्रतिपक्षलाई सम्मान गर्छौ । प्रतिपक्ष भनेको राज्यको अभिन्न अंग हो । उहाँहरुले पनि त्यही अनुसारको भूमिका खेल्नुहुन्छ भन्ने हामीलाई विश्वास छ, त्यही विश्वासका साथ अघि बढ्न हामी प्रतिबद्ध छौं’, नेम्वाङले भने ।
उनले भ्रष्टाचार नियन्त्रणमा सरकार आक्रामक रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै यसको व्यवहारमा पनि लागू गरिनुपर्ने पनि धारणा राखे ।