१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘काठमाडौँमा भूमिगत रेल यातायात संचालन गर्न लण्डनमा बहस’

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७६, सोमबार १५:०५

लण्डन । नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गका प्राध्यापक डा. त्रिरत्न बज्राचार्यले नेपालमा गएको २५ वर्षमा इञ्जिनियरिङ्ग शिक्षाले फड्को मारेको बताएका छन्।

सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूकेद्वारा शनिवार लन्डनमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रा. बज्राचार्यले सन् १९९४ सम्म नेपालमा वर्षेनी ४८ जना विद्यार्थीले मात्र स्नातक तहको इञ्जिनियरिङ्ग विषयहरु पढ्न पाउने गरेकोमा अहिले देश भरिका कलेज र विश्वविद्यालयमा वर्षेनी हजारौं विद्यार्थीहरुले इञ्जिनियरिङ्गसंग सम्वद्ध विषयहरु पढीरहेको बताए। उनले सन् १९७२ मा स्थापित इन्स्टिच्युट अफ इञ्जिनियरिङ्ग अहिले नेपाल र क्षेत्रीय स्तरमै ‘सेन्टर अफ एक्सिलेन्स’ को रुपमा चिनिएको पनि बताए।

प्रा. बज्राचार्यले इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गमा भर्ना हुन् वर्षेनी झन्डै हजारौं विद्यार्थीहरुले प्रतिस्पर्द्धा गर्ने र भर्ना प्रक्रिया शतप्रतिशत निस्पक्ष रहेको पनि बताए। उनले नेपाल मेडिकल काउन्सिलले जस्तै नेपाल इञ्जिनियरिङ्ग काउन्सिलको जांच पछि मात्रै नेपाली इन्जिनियरहरुले काम गर्न पाउने व्यबस्था गर्न नेपाल इन्जिनियर्स एसोसियसनले पहल गर्ने पनि जनाए।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालमा भूकम्प लगत्तै र त्यसपछि पनि सोने यूकेले पुराएको सहयोगको प्रशंसा गर्दै बेलायती जनता र सरकारले पनि ब्रिटेनमा कार्यरत नेपाली इन्जिनियरहरुको सम्मान गरेको आफुले पाएको बताए। “ब्रिटेन जस्तो विकसित, औद्योगिक राष्ट्रमा तपाईंहरुले सिक्नु भएको इञ्जिनियरिङ्ग पद्धति, प्रविधि र ज्ञानको हस्तान्तरण नेपालको विकासका लागि महत्वपूर्ण हुनेछ,” उनले भने।

सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूकेका अध्यक्ष शैलेन्द्रकाजी श्रेष्ठले आफ्ना सदस्यहरुको सीप र विज्ञता नेपालको हितमा प्रयोग गर्न सोने यूकेले तीन ओटा संस्थासंग समझदारीपत्रमा हस्ताक्षर गरेको बताए। विकास भनेको जनताका लागि राम्रो प्रणाली सिर्जना गर्नु हो भन्दै उनले नेपाल इन्जिनियर्स एसोसियसनलाइ पद्धतिमा सुधार गर्ने कामको नेतृत्व लिन आग्रह गरे।

महासचिव उमेश पराजुलीले सोने यूकेले आफ्नो स्थापनाकाल सन् २००७ देखि बेलायतमा कार्यरत नेपाली इन्जिनियरहरुको वृत्ति विकासका लागि काम गर्दै आएको बताए। उनले नेपाली इन्जिनियरहरुको विदेशमा सिकेको ज्ञान र सीप नेपालको पुनर्निर्माणमा प्रयोग गर्न सजिलो पहुँच बनाउन एउटा ‘फोकल पोइन्ट’ को स्थापना गर्न नेपाल सरकारलाई आग्रह पनि गरे। सोने यूकेका उपाध्यक्ष डा. वीरेन्द्र श्रेष्ठले सम्मेलनको उद्देश्यबारे प्रकाश परेका थिए।

कार्यक्रममा पररास्ट्र मन्त्रीका प्रेस सल्लाहकार सुधन ज्ञवालीले बेलायतमा कार्यरत नेपाली इन्जिनियरहरुको विज्ञता नेपालको पूर्वाधार, जलविद्युत, यातायात, दूरसंचार लगायतका क्षेत्रमा उपयोगी हुने विश्वास व्यक्त गरे।

कार्यक्रमको दोश्रो सत्रमा इन्जिनियर डा. विनोदलाल अमात्यले नेपालमा सन् २०४० सम्म भूमिगत रेल यातायात संजाल विकासको खाका पेश गरे। उनले राजधानी काठमाडौँमा एकीकृत यातायात प्रणाली विकास गर्न आवश्यक रहेको बताउँदै त्यसमा सघाउन आफुहरु तयार रहेको बताए। सन् २०१२ मा काठमाडौँमा भूमिगत रेल यातायात (मेट्रो) संचालन गर्नेबारे सम्भाव्यता अध्ययन भैसकेको बताउँदै डा. अमात्यले काठमाडौँ उपत्यकाको दीर्घकालिन विकास तथा आर्थिक सम्वृद्धिका लागि मेट्रो सबैभन्दा उपयुक्त विकल्प रहेको पनि बताए।

ब्यांककस्थित संयुक्त राष्ट्र संघ एस्क्यापमा कार्यरत शहरी यातायात विज्ञ डा. मदन बहादुर रेग्मीले नेपालमा विस्तृत शहरी यातायात योजना अत्यावस्यक भै सकेको बताए। उनले सडक सुरक्षा नेपालको प्राथमिकता हुन नसकेकोमा दुख व्यक्त गर्दै जति सक्दो चांडो सडक सुरक्षा परिषद गठन गर्न सुझाव पनि दिए।

विश्व स्वास्थ्य संगठनको काठमाडौँस्थित कार्यालयमा कार्यरत इन्जिनियर सुदन पन्थीले यल विश्व विद्यालयले १८० देशहरुको वातावरणको अनुगमन गरि गत वर्ष प्रकाशित गरेको ‘इन्भाईरनमेन्टल पर्फर्मेन्स इन्डेक्स’ मा नेपाल १७६ औं स्थानमा पुग्नु दुखको कुरा भएको बताए।

उनले काठमाडौँको वायु प्रदूषणले गर्दा नेपालको स्थिति खस्केको बताउंदै बेलायतजस्ता मुलुकहरुले वायु प्रदूषण नियन्त्रण गर्न अपनाएका कदमहरु र उनीहरुको उपलव्धिबाट नेपालले पनि सिक्नु पर्ने बताए। दोश्रो सत्रको अध्यक्षता ब्रिटेनको सोलेन्ट विश्व विद्यालयका सहप्राध्यापक डा. रमेश मरासिनीले गरेका थिए।

सम्मेलनमा ब्रिटेनको पोर्ट्समथ विश्वविद्यालयका प्राध्यापक होम ढकाल, स्वांसी विश्वविद्यालयमा अनुसन्धानरत रामहरि पौड्याल, इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गका सहायक प्राध्यापक डा. इन्द्र आचार्य, बेलायतमा कार्यरत वरिष्ठ निर्माण व्यवस्थापक विजय गुरुंगले प्रश्तुति गरेका थिए।