१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाली सेनाले पाए एक हजार ४५३ घर बनाउने जिम्मा

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७६, सोमबार १७:२३

वीरगञ्ज–पर्सा र बारा जिल्लामा हावाहुरीका कारण पूर्णरुपमा क्षति भएको एक हजार ४५३ वटा घर नेपाली सेनाले पुनर्निर्माण गर्ने भएको छ ।

हावाहुरीका कारण जिल्लाको ठेटा, तेलकुवा, त्रसैनी, भलुवाही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायत ठाउँमा घरहरु भत्कँदा २९ जनाको मृत्यु हुनाका साथै ६०० भन्दा बढी घाइतेको थियो । हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न सोमबार यहाँ आएका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आगामी साउनभित्र निर्माण सम्पन्न गर्ने गरी नेपाली सेनाले जिम्मेवारी पाएको र त्यसमा जनप्रतिनिधि, स्थानीय सङ्घसंस्था तथा व्यक्तिहरुबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गरे ।

एक हजार ४५३ वटा घर निर्माणका लागि सरकारले रु ८४ करोड ६८ लाख ७६ हजार १४० विनियोजन गरिएको उनले बताए ।

नेपाली सेनाका ७५० भन्दा बढी इञ्जिनीयर, प्राविधिकले यही वैशाख २१ गतेबाट औपचारिक रुपमा काम थालिने जानकारी दिँदै मन्त्री पोखरेलले जहाँ जस्तो अवस्थामा पनि तत्काल जनतालाई राहत दिने हिसाबले निर्माण कार्य हुने बताए ।
गत चैत १७ गते साँझ आएको हावाहुरीका कारण बारा जिल्लाको उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका गरी आठ वटा इलाकामा ठूलो सङ्ख्यामा मानवीय तथा जनधनको क्षति गरेको थियो ।