८ बैशाख २०८१, शनिबार
Follow Us

भद्रा घलेलाई देवकोटा शिखर सम्मान

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७३, शुक्रबार १५:०९

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्तीको अवसरमा विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा राजनीतिज्ञ, समाजसेवी तथा साहित्यकार सुश्री भद्राकुमारी घलेलाई ‘देवकोटा शिखर सम्मान’ द्वारा सम्मानित गरिएको छ । कात्तिक १ गते भद्रा घले सेवा सदन देवीनगरमा आयोजित समारोहमा प्रमुख अतिथि नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष तथा वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माले घलेलाई सम्मानित गर्नुभएको थियो ।
पूर्वमन्त्री हरिप्रसाद न्यौपाने, इजरायलका लागि नेपालका पूर्व राजदूत प्रल्हादकुमार प्रसाईं, कथाकार जलेश्वरी श्रेष्ठ, वरिष्ठ कवि गोपालप्रसाद पराजुली, प्रतिष्ठानका सल्लाहकार समाजसेवी लक्ष्मीप्रसाद प्रसाईं, संगीत तथा नाट्य प्रतिष्ठानकी प्राज्ञ उन्नति बोहोरा शिला, समाजसेवी आमा दिलमाया श्रेष्ठ, गोरखापत्रका पूर्वमहाप्रबन्धक भरतकुमार प्रसाईंसहितले विशिष्ट आतिथ्यता ग्रहण गर्नुभएको कार्यक्रममा महाकवि देवकोटाको जीवनका विविध आयामको चर्चा गर्नुका साथै कवि कवियत्रीहरुबाट कविता वाचन गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाईंले सभापतिको आसनबाट संस्थाको उद्देश्यबारे बोल्दै विश्वभर छरिएर रहेका नेपालीहरुबीच साहित्यिक सेतुको काम गर्ने उद्देश्य प्रतिष्ठानको रहेको बताउनुभयो । उहाँले संस्थाको पहिलो साहित्यिक कार्यक्रमका रुपमा असार १५ गते भानुजयन्ती मनाएर केही स्रष्टाहरुलाई सम्मानसमेत गरेको स्मरण गर्दै भद्रा घले जस्तो बहुमुखी प्रतिभाकी धनी राजनीतिज्ञ, साहित्यकार, कलाकार र वरिष्ठ समाजसेवी आमालाई देवकोटा जयन्तीमा सम्मान गर्न पाउँदा प्रतिष्ठानको गौरव बढेको बताउनुभयो । प्रसाईंले लक्ष्मीप्रसाद देवकोटाको जीवन संघर्ष र साहित्यका विविध आयामबारे रोचक ढंगले प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख अतिथि नगेन्द्रराज शर्माले महाकविका छोराहरुसँगै खेल्दै आफ्नो बाल्यकाल बितेको स्मरण गर्दै देवकोटा पारिवारिक व्यवस्थापनमा मात्र कमजोर भएका तर आर्थिक रुपले गरिब भने नरहेको र उहाँको जीवनशैली रहिस रहेको बताउनुभयो । भद्रा घलेजस्तो प्रतिभालाई सम्मान गर्ने मौका पाएकोमा उहाँले संस्थाप्रति आभार प्रकट गर्नुभयो ।
सम्मानित व्यक्तित्व भद्राकुमारी घलेले सम्मान ग्रहण गर्दै विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको गरिमाले नयाँ उचाइ लेओस् भन्ने शुभकामना दिँदै सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफूसँग २०१८ सालमा महिला संघको माननीय बन्न निवेदन दिने २०० रुपैयाँ नभएको तर आँट गरेर काम गर्दा वर्तमान अवस्थामा आइपुगेको भन्दै सबैलाई राम्रो काम गर्न आँट गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले असहाय महिला ज्येष्ठ नागरिक, पिछडिएका जाति, बालबालिकालाई आश्रय दिनुको साथै छात्रवृत्ति प्रदान र विभिन्न सहयोग गरेको समेत बताउनुभयो । ९० वटा पुस्तक लेखेर प्रकाशन गरिसक्नुभएकी घलेको कलाकारितामा विशेष दक्षता रहेको छ ।
स्वागत मन्तव्यका क्रममा संस्थाकी उपाध्यक्ष साहित्यकार सन्ध्या रेग्मीले घलेको व्यक्तित्वबारे विस्तृत चर्चा गर्नुभएको थियो । उहाँले घलेको तुलना मदर टेरेसासँग गर्नुभएको थियो । मन्तव्यको क्रम सँगसँगै सुरु गरिएको कविता वाचनको वरिष्ठ कवि ठाकुर शर्माले महाकविबारे लेखेको लयबद्ध कविताबाट अगुवाई गर्नुभएको थियो । वरिष्ठ कवि गोपालप्रसाद पराजुलीका साथै जय छाङ्छा, लक्ष्मीप्रसाद प्रसाईं, प्रभाकर पाण्डे, सुरेशजंग शाह, गंगा पौडेल, गीता कार्की, तर्कना शर्मा, मणिराज सिंह, राधिका दाहाल, रीता शिवाकोटी, गोपीकृष्ण प्रसाईं, तेजेन्द्र प्रसाईं, यादृक्षा उप्रेती, श्रीराम राय, पुकार तिमिल्सिना, रश्मी रिमाल, प्रकाश समीर, विनोद श्रेष्ठलगायतले कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको संयोजन तथा सञ्चालन संस्थाका वरिष्ठ सदस्य बनिता साहित्यिक पत्रिकाकी सम्पादक लक्ष्मी उप्रेतीले आकर्षक र व्यवस्थित ढंगले सञ्चालन गर्नुभएको थियो ।