४ बैशाख २०८१, मंगलवार
Follow Us

सुरक्षित खानेपानी युक्त समुदाय घोषित

sarusaru
१७ बैशाख २०७६, मंगलवार ०२:२१

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाको दुई वडाको समुदायलाई आज ‘सुरक्षित खानेपानी युक्त समुदाय’ घोषणा गरिएको छ।

नेपाल सरकार, धुलिखेल नगरपालिका, फिनल्याण्ड सरकार, युनिसेफ नेपाल र सिविक फोरमको सहयोगमा धुलिखेल–१ स्थित छाँगे र ११ को धिताल टोललाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो।

सरकारको दिगो विकास लक्ष्य (एसडिजी)अन्तर्गत सबै नेपालीलाई सन् २०३० सम्म सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्यसहित धुलिखेल नपाका दुई समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरी अभियानको शुरुआत गरिएको नगरप्रमुख अशोक ब्याञ्जुले बताए।

उनले छाँगे र धितालटोलमा ‘एक घर, एक धारा’ व्यवस्थित गरिएको बताए। नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहेका ब्याञ्जुले भने, ‘धुलिखेलमा एक घर, एक धारा कार्यक्रमअन्तर्गत आउँदो तीन वर्षमा सबै नगरवासीलाई खानेपानी उपलब्ध गराउँछौँ।’

कार्यक्रमअन्तर्गत छाँगेका ३० परिवार र धितालटोलका २० घरमा धाराबाट सुरक्षित खानेपानी वितरण गरिएको छ।

दिगो विकास लक्ष्यअन्तर्गत ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गर्न सम्पूर्ण समुदायलाई सम्मिलित गरी सुरक्षित खानेपानी योजना कार्यान्वयन गर्नुपर्ने, समुदाय खुला दिसामुक्त भएको, खानेपानीका स्रोतमा जनावर तथा मानिसको आवतजावत नहुने, सबैले सुधारिएको खानेपानीको स्रोत प्रयोग गरेको तथा खानेपानी सुरक्षितरुपमा भण्डारण गरेको हुनुपर्नेलगायतका सूचक सुनिश्चत हुनपर्ने उद्देश्य राखिएको छ।

‘ई कोली’ नामक जिवाणुको सङ्क्रमण नभएको, आर्सेनिक र फ्लोराइडको सङ्क्रमण नभएको लगायतका मापदण्ड पूरा भएपछि मात्रै सरकारले ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गर्न सक्नेछ।
डिसी नेपाल