१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पानी कम्पनीमा शिलबन्दी

sarusaru
१७ बैशाख २०७६, मंगलवार ०२:३९

सुर्खेत : बजार अनुगमन समिति सुर्खेतले मापदण्ड विपरित संचालन भएका तीनवटा खानेपानी कम्पनीमा शिलबन्दी गरेको छ। आइतबारदेखि सुरु भएको अनुगमनका क्रममा दुई दिनमा तीनवटा खानेपानी कम्पनी शिलबन्दी गरिएको हो।

खाद्य निरीक्षक भेषबहादुर थापाको नेतृत्वमा गएको अनुगमन टोलीले मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालि औद्योगिक क्षेत्र सुर्खेत र देउती दर्शन वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालि पिपिरा सुर्खेतमा शिलबन्दी गरेको हो।

सोमबार वीरेन्द्रनगर १० सुर्खेतमा रहेको रारा ड्रिङ्किङ्ग वाटर सप्लाई उद्योगलाई अनुगमन टोलीले शिलबन्दी गरेको हो। त्यसैगरी जयश्री पेवर ड्रिङ्किङ्ग वाटर कम्पनी र काँक्रेविहार वाटर कम्पनी भने संचालन नभएको पाइएको छ।

मापदण्ड पूरा नगरी संचालन गरेकोले, गुणस्तरीय पानी उत्पादन नभएकोले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएको हुँदा पानी उत्पादन गर्ने कम्पनीमा शिलबन्दी गर्नु परेको खाद्य निरीक्षक थापाले बताए।

पिउने पानी सम्बन्धी निर्देशिका २०७४ बमोजिम मापदण्ड पूरा गरेर कम्पनी सुचारुका लागि निवेदन दिएमा पुनः अनुगमन गरी कम्पनी संचालन गर्न दिने निरीक्षक थापाले उल्लेख गरे।

मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालि औद्योगिक क्षेत्र सुर्खेतले उत्पादन गरेको पानीको जार भित्र केही दिन अघि मात्र झिँगा फेला परेको थियो। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएको हुँदा पानी उत्पादन गर्ने कम्पनीमा शिलबन्दी गर्नु परेको थापाको भनाइ छ।
अन्नपूर्ण पोष्ट