१९ बैशाख २०८१, बुधबार
Follow Us

शालिग्राम संग्राहलय भदौभित्र सकिने

sarusaru
१७ बैशाख २०७६, मंगलवार ०३:१८

बागलुङ – सुरुङ भित्रै निर्माण हुन लागेको शालिग्राम संग्राहलय आउने भदौ भित्रै सक्ने योजना बनाइएको छ । बागलुङ नगरपालिका वडा नं. ४ कुँडुले फेदीमा निर्माणाधिन संग्राहलय गत भदौंमा शिलान्यास गरिएको हो । सुरुङ भित्रै कालीगण्डकी सभ्यता देखाउने भन्दै थालिएको काम तीव्र गतिमा अगाडि बढेको हो । करोडौं खर्च लाग्ने अनुमान भएपनि ऋण र दानको भरमा निर्माणलाई निरन्तरता दिइएको संग्राहलय निर्माण अभियानका संरक्षक ऋषि प्रपन्नाचार्यले बताए । यहाँ भित्र १ सय मीटर लामो सुरुङ खनिसकेपछि नदीको बहाव र शालीग्राम राख्ने संरचना निर्माण भैरहेको हो । यो संरचनाले हजारौं धार्मिक पर्यटकहरु आउने विश्वास पनि गरिएको छ । हाल यहाँको मुक्तिनाथ बेद विद्याश्रममा राखिएका सबै शालीग्राम सुरुङभित्र लगेर राख्ने योजना छ ।
सुरुङभित्र बर्षात लागेपछि पानी रसाउने भएकोले अघिनै काम गर्ने योजना बनाइएको हो । पानी परेपनि असर नगर्ने काम मात्र असारपछि गरिने उनले बताए । यो सुरुङमा पसेपछि नदी किनारका सबै दृश्य देख्न पाउने गरी डिजाईन भएको छ । त्रिशुल आकारको सुरुङ र भित्री काम सम्पन्न गर्दा ६ करोड बढी खर्च हुने अनुमान गरिएको छ । यहाँ १ लाख शालिग्राम व्यवस्थित रुपमा रहने संग्राहलय बन्नेछ । योजना पुरा भएमा मासिक १ लाख पर्यटक भित्राउन सकिने अनुमान छ । गत साउनमा गण्डकी प्रदेशका वन वातावरण तथा उद्योग मन्त्री बिकास लम्सालले बजेट बिनियोजनको आश्वासन दिएर सुरुङको शिलान्यास गरेका थिए । मन्त्रालयको तर्फबाट पनि संग्राहलयका लागि सहायोग आउने बचनबद्धता आएको बताइएको छ ।
बागलुङ नगरपालिकाले पनि यो अभियानमा साथ दिने वडा अध्यक्ष धु्रवबहादुर केसीले बताए । ‘यो पूर्वाधार बनिसक्दा भारतीय पर्यटकको बढी आर्कषणको गन्तव्य हुने भएकोले हामी सहयोग गरेर सफल बनाउँछौं’ केसीले भने, ‘पर्यटनका लागि वडाले पनि योजना र लगानी गरिरहेको छ ।’ नगरपालिकाबाट रकम बिनियोजन गर्न पहल गरेको उनले दाबी गरे । महत्वकांक्षी र आर्कषक योजना भएपनि सरकारी तहको चासो नपुगेको निर्माण समितिको गुनासो छ । संघिय वा प्रदेश सरकारकै योजनामा समावेश गरेको भएपनि यो काम गर्दा राज्यलाई फाइदा पुग्ने प्रपन्नाचार्यले बताए ।
गत फागुनमा पञ्चकोटमा आयोजित महायज्ञसम्म आइपुग्दा धेरै संरचना बनेको भन्दै यहाँ पनि उत्तिकै महत्वको बनाइने उनले बताए । दुवै तर्फको अध्यक्ष भएकोले समान रुपमा हेरेर काम गरेको उनको भनाई छ । यहाँ दान चन्दाकै भरमा यसअघि नै ६ करोड लागतमै रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर निर्माण भैसकेको छ । भजनकृतनका लागि बागलुङ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष सहदेव राजभण्डारीले झण्डै एक करोड रुपैयाँ खर्चेर सभाहल तथा गरुड शिला समेत बनाईरहेका छन् । ‘जोगीको कमाण्डलु लिएर हिडेपछि जति आउला, त्यसैले बनाउनेछौं’ प्रपन्नाचार्यले भने, ‘अहिलेसम्म करोडौंका संरचना पनि हामीले चन्दाबाटै बनायौं ।’ आश्वासन दिएका स्थानीय सरकार र प्रदेश सरकारले भने रकम उपलब्ध नगराएको उनको गुनासो छ ।
जनमञ्च