७ बैशाख २०८१, शुक्रबार
Follow Us

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७६, मंगलवार १६:१७

काठमाडौं-मकवानुर, कैलाली, कञ्चनपुर र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
मकवानपुरको गढी गाउँपालिका-२ शिखर कटेरीस्थित सडकमा ना.१ क ६२७२ नम्बरको ट्रकको ब्रेक फेल भई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्रकका कामदार भारत शिलगुडी घर भएका ३० वर्षीय राम भुइयाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको छ । चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका-१ पूर्व लम्कीस्थित सडकमा कपिलवस्तु शिवराज नगरपालिका-३ बस्ने २५ वर्षीय सुनिल भण्डारीले चलाएको ना.७ ख ९२३३ नम्बरको ट्रकले मंगलबार बिहान ठक्कर दिँदा लम्कीचुहा नगरपालिका-१ बस्ने साइकलयात्री १९ वर्षीया सुनिता रावलको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाको विषयलाई लिएर मृतकका आफन्तले पूर्व-पश्चिोम राजमार्ग अवरोध गरेकोले प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा भीडले ढुंगा प्रहार गर्दा नेपाल प्रहरीतर्फ ७ र सशस्त्र प्रहरी बलतर्फ ५ जना गरी १२ जना प्रहरी कर्मचारी र एक जना स्थानीयबासी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उक्त स्थानमा हाल अवस्था सामान्य रहेको छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिका-४ स्थित सडकमा सोही नगरपालिका-१९ बागफाटा बस्ने ६५ वर्षीय साईकलयात्री तारा सिंह कुवँरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । हाल नम्बर नखुलेको मोटरसाइकलले आइतबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको अंचल अस्पताल महाकाली र सेती अञ्चल अस्पताल धनगढी हुँदै थप उपचारको लागि भारतको बरेलीतर्फ लैजाने क्रममा मंगलबार बिहान बाटोमै मृत्यु भएको हो ।
यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ स्थित सडकमा से.६ प ६१७२ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने पैदलयात्री ८० वर्षीया मातिमा ऐरको पदमा अस्पताल अत्तरीया हुँदै थप उपचारको लागि भारततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका-१० स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलले मंगलबार दिउसो ठक्कर दिंदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने पैदलयात्री ६० वर्षीया पुर्णमाया गदालको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।