१९ बैशाख २०८१, बुधबार
Follow Us

प्रदीप पौडेलको आरोप–ओली सरकारको पालामा जति काण्ड भए नेकपाकै मान्छे जोडिए

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७६, बुधबार १५:२१

काभ्रे– नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लेनिनवाद र माओवादलाई नेपालका कम्युनिष्टहरुले अपमान र बेइज्जत गरेको आरोप लगाएका छन् । उनले केपी ओली नेतृत्वको सरकार काण्डैकाण्डले घेरिएको पनि दाबी गरे ।
‘केपी ओलीको सरकार आइसकेपछि छोटो समयमा यति धेरै काण्ड यो भन्दा अगाडि कहिल्यै भएको थिएन’, बुधबार नेपाली काँग्रेस भुम्लो गाउँपालिका काभ्रेद्वारा भुम्ली मानेडाँडामा आयोजित आमसभालाई सम्बोधन पौडेलले भने, ‘यो सरकार सुनकाण्ड, वाइडबडीकाण्ड, खुल्लामञ्चकाण्ड, बालुवाटारकाण्डलगायतका काण्डैकाण्डले घेरिएको छ ।’
जनताको पक्षमा केही नगरी आफ्नो पक्षमा मात्रै काम गर्ने र राज्यसत्ता कब्जा गरेर आफूले ब्रह्मलूट गर्ने प्रवृत्ति बढेको दाबी गर्दै पौडेलले लेनिनवाद र माओवादको सिद्धान्त अनुसरण गर्न नेकपा नेतृत्वको सरकारलाई सुझाव दिए ।
अहिले बाहिर आएका विभिन्न काण्डहरुमा सरकार र नेकपाका नेताहरुमात्रै जोडिएको दाबी गर्दै पौडेलले प्रधानमन्त्री यी काण्डहरुमा संलग्नहरुलाई जोगाउन लागिपरेको आरोप लगाए ।
‘जति पनि काण्डहरु भएका छन्, सबै काण्डमा सरकारका र नेकपाका मान्छेमात्रै जोडिएका छन्’, पौडेलले भने, ‘प्रधानमन्त्रीले छानबिनै नगरी पहिले न ैआफ्नो मान्छे निर्दोष रहेको भन्नुहुन्छ । उहाँ दोषीलाई जोगाउन कतिबिघ्न लाग्नु भएको छ भन्ने यसैबाट प्रमाणित हुन्छ ।’
छानबिन नगर्ने र मुछिएकाहरु निर्दोष पनि छन् भनेर प्रधानमन्त्रीले के आधारमा भनेका हुन् भन्ने प्रश्न गर्दै पौडेलले वाइडबढी प्रकरणमा त छानबिन समितिका सदस्यलाई नियुक्तिपत्र समेत नदिइएको आरोप लगाए ।
खुल्लामञ्चमा बनाइएको अवैध सटर भत्काएर मात्रै सरकारको दायित्व पूरा नहुने भन्दै पौडेलले यसबारे गम्भीर छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्नेमा जोड दिए । तर प्रधानमन्त्रीले यसको छानबिनमा सक्रियता नदेखाएको पौडेलले आरोप लगाए ।
प्रधानमन्त्रीले आफू भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताउँदै आएपनि व्यवहारमा भने त्यस्तो हुन नसकेको पौडेलले तर्क गरे । उनले भने, ‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्नु भयो, तर उहाँ प्रधानमन्त्री भएदेखि भ्रष्टाचारको काण्ड एकपछि अर्को गरी आइरहेको छ। यसको मतलब केपी ओली जे भन्नु हुन्छ त्यसको ठीक उल्टो गर्ने मान्छे हो । भनाइ र गराइमा कुनै तालमेल देखिँदैन ।’
सरकारको कार्यशैलीले जनतामा निराशा बढाएको पनि कार्यक्रममा पौडेलले दाबी गरे । यही संविधानबाट देश समृद्ध बन्नेमा काँग्रेस विस्वस्त रहेको बताउँदै पौडेलले काँग्रेसको नेतृत्वमा संविधान आएजस्तै विकास र समृद्धि पनि काँग्रेसकै नेतृत्वमा आउने दाबी गरे ।
सरकारको मनपरीविरुद्ध काँग्रेस एकजुट भएर अघि बढ्ने बताउँदै पौडेलले त्यसका लागि साथ दिन आमसभामार्फत अपील गरे ।
केन्द्रीय सदस्य शेखर कोइरालाको आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य बहादुर सिंह लामासहित शिव हुमागाईँ, मधु आचार्य, नेविसंघ नेता सुशील भट्टलगायतको सहभागिता रहेको थियो ।