७ बैशाख २०८१, शुक्रबार
Follow Us

रेमिट्यान्सले फेरियो दलित बस्तीको मुहार

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७३, शनिबार ०३:४९

बेनी  । घरमा आर्कषक टिभी, गोठमा दुहुनो भैसी र बैंकमा पैसा । केही वर्ष अगाडिसम्म म्याग्दीको पुलाचौर पुरुन्नेका दलित समुदायलाई यो सपना जस्तै लाग्थ्यो । आर्थिक अवस्था कमजोर भएकै कारण दैनिक ज्याला मजदुरी गरेर घरखर्च चलाउने गरेका बेनीनगरपालिका–११ पुरुन्नेका दलितको दैनिकीमा अहिले परिवर्तन आएको छ ।

गाउँबाट धमाधम वैदेशिक रोजगारमा जानेको लर्को लाग्न थालेपछि पुरुन्नेवासीको हातमा मोबाइल, घरमा महँगो टिभी र सहर बजारमा घरघडेरी समेत छन् ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएपछि छिमेकीको घरमा भाडा, दैनिक मजदुरी गरेर गास जुटाउने गरेका महिला छोरालाई ऋण खोजेर विदेश पठाएको केही वर्षमै गाउँमा आफ्नै घरसहित आधुनिक सुविधा उपभोग गरिरहेका छन् ।

गाउँघरमा दैनिक समय काट्ने गरेका युवा विदेश गएर धमाधम रेमिट्यान्समार्फत पैसा पठाउन थालेपछि पुरुन्नेमा व्यक्तिगत जीवनस्तरका साथै सरसफाइमा समेत परिवर्तन भएको पुरुन्नेका अगुवा टीकाराम परियारले बताउनुभयो ।

एक सय तीन घरधुरी रहेको पुरुन्नेका अधिकांश घरबाट खाडीमुलुक कतार, साउदी अरब, बराइन, मलेसिया, भारतलगायतका देशमा गएपछि गाउँको रुप फेरिएको छ । आर्थिकस्तरमा परिवर्तन भएसँगै सरसफाइसहित जनचेतनामूलक कार्र्यमा समेत गाउँले सक्रिय रहेका छन् । पुरुन्नेमा मासिक रु १० लाख बढी रेमिट्यान्सबापतको रकम भित्रिने गरेको स्थानीयले बताएका छन् ।

आर्थिकस्तरमा परिवर्तन भएपछि सरसफाइ, नयाँ प्रविधिको प्रयोग, शिक्षादिक्षामा समेत सहज भएको छ । बालबालिकाले समेत निजी तथा गाउँकै सामुदायिक विद्यालयमा समेत उत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् । श्रीमान् विदेश गएपछि महिलाले गाउँमा फेन्सी, सिलाइकटाइ, खुद्रा पसलसहित विभिन्न स्वरोजगारमूलक काम गरिरहेका छन् ।