१३ बैशाख २०८१, बिहीबार
Follow Us

बुढेसकालको सहारा बन्दै आश्रम गलेश्वरधाम

sarusaru
१९ बैशाख २०७६, बिहीबार १३:४४

म्याग्दी, १९ वैशाख – जिल्लाको पवित्र तीर्थस्थल गलेश्वर धाममा विगत १० वर्षदेखि संचालन हुँदै आएको गलेश्वरधाम जेष्ठ नागरिक आश्रम यस क्षेत्रका बृद्धबृद्धाहरुको लागि बुढेसकालको सहारा बनेको छ । २०६७ सालदेखि बेनी नगरपालिका–९ गलेश्वरमा संचालन हुँदै आएको आश्रममा अहिले ५५ जना बृद्धाबृद्धहरु निशुल्क आवासीय सुविधा सहित सहारा लिइरहेका छन् । सामान्यतया ५० बर्ष काटेपछि आफ्नो छोराछोरीको साहारामा बाँचिरहेका हुन्छन् बुबाआमा । त्यसैले त भनिन्छ सन्तान बुढेसकालको साहरा हुन् । तर, तिनै बुढेसकालमा साहरा पाउने आसमा पालेका सन्तानका लागि बोझ बनेर बस्न नसेकेपछि ५५ जना जेष्ठ नागरिकहरुका लागि यो आश्रम साहरा भएको हो । केही कामधन्दा गर्न नसक्ने बुवाआमाहरुलाई आफ्नै सन्तानले वास्ता नगरेपछि उनीहरु जेष्ठ नागरिक आश्रमको सहारामा बाँचेका हुन् ।

आफ्ना नाति नातिनीहरुसंग खेल्दे÷खेलाउँदै घरको आँगन, फूलवारी र खेतवारीको हेरचाह गर्ने उमेरमा एक्लै बृद्धाश्रममा बस्नु पर्दा उराठ र नरमाइलो लागेको विगत १५ वर्षदेखि बृद्धाश्रममा बस्दै आएकी यसोदा सरस्वतीले बताइन् । ‘आश्रमले सहारा त दियो तर मनबाट आफ्ना सन्ततीहरुको मोह हटाउन सकेन’ यशोधाले भनिन् ‘आश्रमबाट छोराछोरीले पाउने जस्तो मायाँ त पाएका छौं तर आफ्ना सन्तानले अभिभावकलाई गर्ने स्नेह र अपनत्वको अभाव चैं भैरहदो रहेछ ।’ दाताहरुको सहयोग र गलेश्वर शिवालय मन्दिरमा चढेको भेटीबाट संचालन हुँदै आएको गलेश्वरधाम जेष्ठ नागरिक आश्रममा अहिले गण्डकी प्रदेशका सवै जिल्लाहरुका साथै प्यूठान र सल्यानसम्मका जेष्ठ नागरिकहरुले आश्रम लिएका छन् ।

आश्रममा मासिक ४ लाख बराबरको खर्च हुने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यवाहक अध्यक्ष बमबहादुर पुनले बताए । ‘आश्रममा आउनुभएका बुबाआमाहरुलाई स्वास्थ्य उपचारदेखि बस्ने खाने, लत्ता कपडा सबै निशुल्क दिने गरिएको छ, आश्रममा हुने खर्च दाताहरु र गलेश्वर मन्दिरमा चढेको भेटीबाट जुटाउने गर्दछौं’ पुनले भने । आश्रममा बिहान ९ बजेपछि घण्टी लाग्छ । त्यो घण्टी खाना तयार भएको जानकारी दिनका लगाइन्छ । घण्टीको आवाजसंगै बृद्धबृद्धाहरु आफ्नो कोठाबाट थाल र कचौर लिएर किचन (भान्छा) मा पुग्छन् । विहानको खाना खाएपछि शुरु हुन्छ भजन कीर्तन र त्यसपछि एकापसमा दुख सुखका कुरा । यसरी नै बितिरहेको छ आफन्तबाट त्यागिएका तर आश्रमको सहारा पाएका ५५ जना बृद्धबृद्धाहरुको दैनिकी ।
जनमञ्च