१५ चैत्र २०८०, बिहीबार
Follow Us

आन्तरिक ऋण उठाउने तयारीमा सरकार

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७६, शुक्रबार ०३:३२

काठमाडौं – गत वर्ष पहिलो महिना साउनमा नै आन्तरिक ऋण उठाएको सरकारले चालु आर्थिक वर्ष नौ महिना पछि ऋण लिने तयारी गरेको छ। सरकारले गत वर्ष साउनमा ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो।

चालु बजेटको लक्ष्यअनुसार राजस्व संकलन नभए पनि खर्च कम हुँदा सरकारलाई आन्तरिक ऋण उठाउनुपर्ने बाध्यता नपरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रशारित ‘जनतासँग प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रममा यो वर्ष राजस्व राम्रो उठेका कारण आन्तरिक ऋण उठाउनु नपरेको बताएका थिए। तर उनकै सरकारले आन्तरिक ऋण उठाउन फाइल खोलिसकेको थियो।

चालु आवको चैत महिनासम्म राजस्व लक्ष्यभन्दा ८५ अर्ब ६२ करोड रुपैयाँ कम संकलन भएको थियो। महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबारसम्म सरकारले पाँच खर्ब ३१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। यही अवधिमा उसले ६ खर्ब ६० अर्ब रुपैयाँ खर्च गरेको छ। त्यस्तै, सरकारले चैत मसान्तसम्म एक खर्ब १२ अर्ब १३ करोड रुपैयाँको वैदेशिक सहायताको प्रतिबद्धता जुटाएको छ। उक्त प्रतिबद्धतामध्ये अनुदान सहायतातर्फ १८ अर्ब ४४ करोड र ऋण सहायता ९३ अर्ब ६९ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार सरकारी कोषमा अहिले एक खर्ब ४४ अर्ब ९२ करोड रुपैयाँ बचत छ। नागरिक दैनिकमा खबर छ ।