१५ बैशाख २०८१, शनिबार
Follow Us

भारतको ओडिशा पुग्यो फानी तुफान, नेपालमा वर्षा र हावाहुरीको सम्भावना

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७६, शुक्रबार ०७:२६

काठमाडौं। बंगालको खाडीमा सक्रिय भएको समुन्द्री तुफान फानी भारतको ओडिशा पुगेको छ। ओडिशामा तुफानका कारण करिब २०० किलोमीटर प्रतिघण्टाका गतिमा हावाहुरी चलेको छ भने भीषण वर्षा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

यता नेपालमा भने यो फानी तुफानका रुपमा प्रवेश भने गर्ने छैन । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार एक सचेतना जारी गर्दै वर्षा र हावा हुरी चल्न सक्ने चेतावनी दिएको छ। महाशाखाका मौसम विद राजु प्रधानांगले फानीको प्रभाव नेपालमा हावा हुरी र वर्षाका रुपमा पर्ने भए पनि तुफानकै रुपमा फानी नेपाल प्रवेश नगर्ने बताए। उनका अनुसार बंगलाको खाडीमा उत्पन्न भएको यो समुन्द्री तुफान ओडिशामा जमिनसँग ठोक्किएपछि यसको स्वरुप बदलिनेछ भने यसको गति पनि निकै कमजोर हुनेछ ।

फानीले सबैभन्दा धेरै प्रभाव ओडिशामा पार्ने अनुमान गरिएको छ । त्यसैल त्यहाँ रेल सेवा, वायु सेवा र समुन्द्री सेवा बन्द गरिएको छ। विद्यालयहरु पनि बन्द गरिएको छ । तटीय क्षेत्रका करिब ११ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यता नेपालमा सो तुफानको प्रभाव तुफानका रुपमा नभइ हावाहुरीका रुपमा पर्ने छ । चिसो हावा र आद्रता बढि भएको हावा नेपाल प्रवेश गर्ने र त्यसका कारण शुक्रबार सामान्य वर्षा हुने तथा शनिबार हावाहुरीसहित भीषण वर्षा हुने सम्भावना रहेको मौसम विद् प्रधानांगले डिसीनेपाललाई बताए । उनले आइतबारदेखि भने नेपालको मौसम सफा हुने अनुमान गरिएको बताए ।

फानी तुफानका कारण नेपालमा चिसो हावा प्रवेश गर्नेछ । यस्तै नेपाली वायु मण्डलमा रहेको तातो हावा र बंगलाको खाडीबट प्रवेश गरेको चिसो हावा एकआपसमा ठोक्किँदा चट्यांगको सम्भावना पनि हुने महाशाखाले अनुमान गरेको छ ।

महाशाखाले भनेको छ, ‘चक्रवात “फानी” हाल बंगालको खाडीमा ओडिसा को तटीय क्षेत्र नजिकै अवस्थित छ आज (शुक्रबार) बाट यो प्रणाली भारतको ओड़ीसा को तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने (Landfall) सम्भावना देखिन्छ Landfal पश्चात यो प्रणाली फेरी उत्तर-पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ।’