१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलन अष्ट्रेलियामा

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७६, शनिबार १८:११

लण्डन–गैरआवासीय नेपाली संघ (एनआरएन) को तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलन मे ११ र १२ अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को ओसेनिया संयोजक धर्मराज अधिकारीले कार्यक्रमकाे लगभग तयारी भइसकेकाे जनाएका छन् ।
सम्मेलनको एनआरएनका नेताहरु सिड्नी जाने क्रम सुरु भएको छ । यही क्रममा शनिबार एनआरएन उपाध्यक्ष कुमार पन्त जर्मनीबाट सिड्नी प्रस्थान गरेका छन् ।

सम्मेलनमा पन्तले चैत दोस्रो साता लगानी सम्मेलनमा नेपाल सरकारसँग हस्ताक्षरित सम्झौता अनुसार कार्यपत्र प्रस्तुत गर्नेछन् ।

कार्यपत्रमा १० अर्ब लगानीको आधार, यसको मेकानिजम, प्रतिफलको ग्यारेण्टीलगायतका विषय समेटिने उपाध्यक्ष पन्तले जानकारी दिए । लगानी सम्मेलनका क्रममा एनआरएनले सरकारसँग नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी समझदारी गरेको थियो ।
सम्मेलनमा एनआरएन केन्द्रीय अध्यक्ष भवन भट्ट महासचिव लगायतले पनि कार्यपत्र प्रस्तुत गर्नेछन् ।

ओसिनिया क्षेत्रीय सम्मेलनको मुख्य उद्देश्य नेपाललाई समृद्ध बनाउन कसरी एनआरएनएले बढीभन्दा बढी लगानी, आविष्कार र पर्यटक भित्र्याउन सक्छ भनेर छलफल गर्नु रहेको एनआरएनले जनाएको छ ।
यस्तै विदेशिएका नेपालीहरूले विदेशमा सिकेको ज्ञान, सिप, क्षमता, अनुभव, शिक्षा र कमाईलाई भित्र्याउनेबारे पनि बहस र विमर्श सम्मेलनमा हुनेछ ।

यस्तै नेपालको पर्यटन प्रवद्र्धन गर्नेबारे पनि सम्मेलनमा विशेष छलफल हुनेछ । जसले नेपाल सरकारको उद्देश्य अनुसारको ‘भिजिट नेपाल–२०२०’ सघाउ पुग्ने एनआरएनको अपेक्षा छ ।