१३ बैशाख २०८१, बिहीबार
Follow Us

वडा अध्यक्षबाट कुटिए फोरम नेता

sarusaru
२२ बैशाख २०७६, आईतवार ०३:३२

जनकपुरधाम : संघीय समाजवादी फोरम नेपालका नेता राजकिशोर महतो वडा अध्यक्षबाट कुटिएका छन् । प्रदेश २ बाट प्रदेश सांसदको उम्मेदवार बनेका महतो धनुषाको बटेश्वर गाउँपालिका ३ का वडाध्यक्ष हिरालाल महतोबाट कुटिएको प्रत्यक्षदर्शी गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले जानकारी दिए। नेता महतो धनुषा ४ (ख) बाट पछिल्लो चुनावका उम्मेदवार हुन्।

प्रदेश सरकारले गाउँपालिकामा पठाएको ५० लाख अनुदान बजेटको विषयमा भनाभन हुँदा कुटाकुट भएको हो। गाउँमा विकासको लागि प्रदेश सरकारले पठाएको बजेटबाट फोरमका नेता महतो मन्दिर निर्माण गर्ने पक्षमा छन्।

उनले प्रदेश सरकारको योजनामा भनसुन गरेर मन्दिर निर्माणको शीर्षकमा बजेट खर्चिने उल्लेख गराएको गाउँपालिका अध्यक्ष राउतले बताए। ‘स्थानीय सरकारको प्राथमिकताको आधारमा प्रदेश सरकारले बजेट कार्यान्वय गराउनु पर्छ,’ गाउँपालिका अध्यक्ष भन्छन्।

वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष र स्थानीयबीच वडा कार्यालयमा गाउँमा सडक विस्तारको लागि छलफल चलिरहेको थियो। त्यसैबीच पुगेका फोरमका नेता महतोले प्रदेश सरकारको बजेटबारे कुरा झिकेका थिए। चुनावताका आफूले मन्दिर बनाउने स्थानीयलाई वचन दिएको फोरम नेताको भनाइ छ।

गाउँपालिका अध्यक्षले भने, ‘यहाँ कृषि क्षेत्र भएकाले किसानलाई सिचार्इंको लागि दुई बोरिङ्ग निर्माण पहिला गर्नुपर्छ। फुर्सदमा भजनकृतनलाई प्राथमिकता दिनुपर्छ।’

त्यसपछि फोरमका नेता र वडा अध्यक्षबीच चर्को भनाभन हुन थाल्यो। प्रत्यक्षदर्शी गाउँपालिका अध्यक्ष राउत भन्छन्, ‘फोरमका नेता राजकिशोरजीले हाम्रो वडा अध्यक्ष हिरालाल जीसँग सिनाजोरी गर्दै धक्लिदिए।’ आफ्नो हैसियतामा फोरम नेताले धावा बोल्न आएपछि वडा अध्यक्षले उनलाई गालामा झापड लगाएको गाउँपालिका अध्यक्ष बताउँछन्।

झापड खाएपछि फोरम नेता महतोले वडाअध्यक्षमाथि इँटा प्रहार गरेका थिए। इँटाले वडाअध्यक्षको हातमा चोट लागेको छ। छतको पिलरको रडले खुट्टासमेत काटिएको छ। वडा अध्यक्ष र फोरम नेता छिमेकी हुन् । वडा अध्यक्षसँगै गाउँपालिका अध्यक्ष दुवै मिलेर आफूलाई कुटेको पीडित फोरमका नेताको दाबी छ।

‘हरुवा नेता, बजेट बाँडफाँड गर्ने भन्दै गाउँपालिका अध्यक्षले भन्नुभयो,’ उनले भने, ‘वडा अध्यक्षले चोरफटहा भन्नुभयो। गाली गर्नुभयो।’ त्यसपछि मलाई गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले मिलेर कुटेको उनको भनाइ छ।
अन्नपूर्ण पोष्ट