March 28, 2020

मार्क्सको यो ५ योगदान जसले बदल्यो हाम्रो जिन्दगी

  5th May 2019 मा प्रकाशित

प्रत्येक वर्ष मे ५ माक्र्स जन्मोत्सव मनाइन्छ । यस वर्ष परेको माक्र्सको जन्मको २०१औं वर्षगाँठमा विश्वभर विभिन्न कार्यक्रम छन् ।
अन्याय, अत्याचार र असमानताको अन्त्य चाहने प्रत्येकका लागि कार्ल माक्र्स एक महत्वपूर्ण आदर्श हुन् । तिनका लागि मे ५ को दिनले विशेष महत्व राख्छ ।
आफ्नो सम्पूर्ण जीवन श्रमिक अधिकार र समानताका लागि समर्पित गरेका माक्र्सले अघि सारेका कयैन विचार आज पनि उत्तिक्कै सान्दर्भिक छन् । यही कारणले विगतदेखि नै विश्वभरी समानताका लागि लडिरहेकाहरुलाई माक्र्सको विचारले प्रेरित गर्दै आएको छ ।
यस विचारधाराले २०औं शताब्दीमा ठूलो उचार–चढाव भोग्यो । तर पछिल्लो समय यस विचार पश्चिमा समाजमै पनि बढ्न थालेको देखिन्छ ।
साम्राज्यवाद विरुद्धको संघर्ष र स्वतन्त्रता पक्षधर लडाईमा माक्र्सको विचार सधैं अग्रपंक्तीमा आउँछ । यस क्रममा समर्थकमाझ उनको विचारले उग्र प्रशंसा पाउने गर्छ भने विरोधीमाझ तीव्र आलोचना खेप्छ ।
कमैले ख्याल गरेको कुरा माक्र्सले उठाएका कयैन माग लामो संघर्ष पछि आज जनजिवनमा लागु भइसकेका छन् । यी विचारका सुत्रधारको हिसाबमा हाम्रो जीवनका कयैन सुविधामा उनको महत्वपूर्ण योगदान छ ।
१. बाल श्रमको कटु आलोचना र अनिवार्य बाल शिक्षाको माग
आजको दिन, अनिवार्य बाल शिक्षा एकदम स्वभाविक यथार्थजस्तो लाग्छ । तर सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र सार्वजनिक हुदाँ पश्चिम युरोपका सबै जसो सहरका अधिकाशं बालबालिका औद्योगिक काममा दलिएका हुन्थे ।
त्यो समय माक्र्सले आफ्नो घोषणापत्रमा प्रस्ताव गरेको तत्काल लागु गर्न सकिने १० बुदाँमध्य एउटा अनिवार्य र निशुल्क बाल शिक्षा पनि थियो ।
माक्र्सको घोषणापत्रबाट प्रभावित भएर मजदुर आन्दोलनले माक्र्सको सल्लाह बमोजिम बाल श्रमलाई विरोधको प्रमुख बुदा र नारा बनाउन थाले । पछि यी माग कार्यन्वयन हुदैं गएकाले अनिवार्य बाल शिक्षा आजको स्वाभाविक यथार्थमा बदलिएको छ ।
तर अवस्था अझै पूर्ण सकारात्मक भने छैन । सन् २०१६ मा अन्तराष्ट्रिय श्रम संघले जारी गरेको एक तथ्याकं अनुसार अझै विश्वका १० प्रतिशत बालबालिका रोजगार क्षेत्रमा छन् ।
भावि दिनमा यसमा सुधार गर्नुपर्ने देखिन्छ तर बाल अधिकारको यो पक्षको सुत्रधार माक्र्स हुन् ।
२.जीवनको नियन्त्रण रोजगारदाताको हातमा नभएर प्रत्यैक व्यक्ति आफैमा हुनुपर्ने विचारका सुत्रधार
आजको दिनमा आठ घण्टा, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन विश्वव्यापीरुपमा स्वीकार्य छ । त्यस्तै कामबीच ब्रेक हुने र एउटा निश्चित उमेर पुगेपछि अवकास लिने र अवकास अवधिमा पेन्सन पाउने हक पनि आम भइसकेको छ । तर अवस्थामा सधैं यस्तो थिएन ।
माक्र्सले कम्युनष्टि घोषणा–पत्र ल्याउदा औधोगिक राष्ट्रहरुमा दैनिक १६–१८ घण्टा प्रचलनमा थियो । साप्ताहिक विदा, अवकास पेन्सनजस्ता सुविधा त कल्पनामा पनि थिएनन् ।
तर यसमा कम्युनिष्ट घोषणापत्र प्रकाशनपछिका वर्षहरुमा परिवर्तन आयो ।
यसबारे लण्डन स्कूल अफ इकोनोमिक्सका प्रद्यापक म्याक स्यावेज भन्छन् ,“ माक्र्सको समय र धेरै पछिसम्म एक श्रमिकको जीवन मालिकको नियन्त्रणमा हुन्थ्यो । ती दिन तपाई आफ्नो जीवनमा के गर्ने भन्ने निणर्य गर्न पनि स्वतन्त्र हुनुहुदैन थियो । ”
माक्र्सका सम्पूर्ण कृति श्रमिकको जीवनमाथि उसकै अधिकार हुने भन्नेमा केन्द्रीत देखिन्छ । उनी रोजगारीभन्दा बाहिरको जीवनलाई पनि उत्तिक्कै महत्व दिनुपर्ने कुरालाई जोड दिन्छन् ।
स्यावेज भन्छन् ,“माक्र्स हामीहरुको जीवन हामीले गर्ने रोजगारीको आधारमा मुल्याकंन हुन नहुने भन्छन् । उनी हरेक व्यक्ति आफ्नो जीवनको निर्णय आफै गर्न सक्ने स्थितिमा हुनुपर्ने माग गर्छन् । हिजोको दिनमा माक्र्सले उठाएको माग लामो संघर्षपछि आज यथार्थ भएको छ ।”
३.आफूलाई मन परेको कामले खुसी दिन्छ भन्ने सुत्रका प्रतिपादक
आफूले रोजेको काम गरिरहदाँमात्र तपाईंलाई खुसी हुनेछ । तर आफूलाई मन नपर्ने काममा हुदाँ तपाईं निराश हुुनुहन्छ ।
हामीले जीवनमा चाहेको लक्ष्य वा काममा आफ्नो रचनात्मकता थप्न सक्दा हामीलाई सन्तुष्टि प्राप्त हुन्छ ।
कुनै मोटिभेसन गुरुको हरफ जस्तो सुनिने यी हरफ १९ औं शताब्दीका कार्ल माक्र्सका भनाई हो ।
सन् १८४४ मा लेखिएको उनको किताबमा उनले कामको सन्तुष्टिलाई मानिसको स्वास्थ र मानसिकतासँग जोडेका छन् । काम र स्वास्थको सम्बन्ध देखाउने सम्भवत माक्र्स पहिलो व्यक्ति हुन् ।
माक्र्सको विचारमा मानिसको जीवनको ठूलो हिस्सा रोजगारीले लिने भएकाले त्यसमा खुशी हुनु आवश्यक हुन्छ ।
४.सबै खालका भेदभाव खराब हो भन्ने धारणा व्यापक बनाउने व्यक्ति
माक्र्स प्रत्यक व्यक्तिमाथि हुने अन्यायको विरोध गर्नुपर्छ भन्ने विचार राख्थे । अझ ठूलो स्तरको अन्याय पनि संगठित रुपमा विरोध गर्न सकिने माक्र्सको विश्वास थियो ।
संगठित विरोधको कारण कैयन देशको समाजिक अवस्था बदलिएको छ । रंगभेद, समलैगिंकता र जातिमा आधारित भेदभावविरुद्ध कानुननै बनेका छन् ।
तर केही माक्र्सको समयमा विभेद सहनुपर्छ, जे छ ठीक छ, हामीले भोगिरहेको दुःख हाम्रो कर्मको फलजस्ता विचार पनि व्याप्त थिए । माक्र्सले यी सबैलाई खारेज गरिदिए ।
संगठित विरोधको शक्तिबारे लण्डनमा माक्र्सको स्मृतिसभामा सहभागी लुईस निलसन भन्छन् ,“ संगठित प्रदर्शनले नै आजको आठ घण्टाको अधिकार प्राप्त भएको हो । ”
निलसन यसबारे थप भन्छन् ,“महिलाहरुले मतदान गर्ने अधिकार कसरी पाए ? यो संसदले दया गरेर दिएको होइन । लामो समयसम्म संगठित प्रदर्शनबाटै यो हासिल भएको हो । अहिले पश्चिमा समाजमा सर्बस्वीकृत शनिवार र आइतबारको साप्ताहित विदा कसरी प्राप्त भयो ? मजदुर संगठित भएर हडतालमा ननिस्केको भए यो कहिले पनि प्राप्त हुने थिएन ।”
५.सरकार, व्यापारिक घराना र मिडियाबीचको गठजोड खराब हुने जानकारी
सरकार र व्यापारिक घरानाबीचको सांठगांठ सार्वजनिक हितमा हुदैन । गूगल र फेसबुकजस्ता कम्पनीले सरकारसँग सांठगांठ गरेर तपाईको व्यक्तिगत जानकारी दिए भने के हुन्छ ?
सामाजिक संजालको अस्तित्व नै नभएको समयमा कार्ल माक्र्सले यसबारे १९औं शताब्दीमा चर्चा गरेका छन् ।
यसबारे व्यूनस आर्य यूनिभर्सिटीका प्रद्यापक ब्यालेरिया वाइस व्याख्या गर्छन् ,“उनले त्यो समयको युरोपका विकसित राज्यमा सरकार, बैंक, व्यापारी र औपनिवेशिकरणका प्रमुख एजेन्टबीचको सांठगांठको अध्ययन गरे । उनी तिनको सम्बन्धको गहिराई बुझ्न १५ औं शताब्दीसम्म पुगे ।”
वाइसका अनुसार निष्कर्षमा माक्र्सले नाफा हुदाँ व्यवसायी दास प्रथा उपनिवेशीकरणको लागि राम्रो थियो भने सरकारको उनका समर्थन गर्थी ।
उनी अगाडि भन्छन् ,“कार्ल माक्र्स आफैले पनि पत्रकारिता गरेकाले उनी मिडियाको सामर्थबारे राम्ररी जानकार थिए । यी दिन हामी फेक न्यूजको कुरा गर्छौं तर कार्ल माक्सले यस्तै खालको मिडिया अभ्यासको बारेमा चर्चा गरेको पाइन्छ ।”
“माक्र्सले विगतका समाचारको अध्ययन गर्दा, समचारपत्रमा गरीबले गरेको अपराधको ठूलो स्थान पाएको तर राजा महाराजाका गल्तीको उल्लेखसमेत नभएको पाए ।” वाइसले भनिन् ।

प्रतिक्रिया