७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन पदाधिकारीहरुको लागि उम्मेदवारी शुल्क ह्वात्तै बढ्यो

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७६, आईतवार १४:४८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को केन्द्रीय समितिको बैठक आइतवार सम्पन्न भएको छ ।
संघका अध्यक्ष भवन भट्टको अध्यक्षमा साइबर कन्फ्रेन्सकल मार्फत बसेको बैठकले संघको अक्टोवरमा हुने विश्व सम्मेलनलाई मध्यनजर गर्दै विभिन्न निर्णय गरेको छ ।

संघका केन्द्रीय सदस्य रामशरण सिम्खडाका अनुसार संघको १० औं विश्व सम्मेलन अक्टोवर महिनाको १३ देखि १६ सम्म काठमाडौं हुने सम्मेलन बारे मुख्य अजेण्डामा छलफल भएको थियो । संघका महासचिव डा. बद्री केसीले आगामी विश्व सम्मेलनको लागि तयारी समिति छिट्टै गठन हुने जानकारी दिए ।

बैठकमा उपाध्यक्षत्रय कुमार पन्त, कुल आचार्य, सपिला राजभण्डारीले क्रमशः एनआरएन भवन, शंखमूल पार्क, लाप्राक परियोजना परियोजनाको बारेमा प्रगति प्रतिवेदन पेश गरेका थिए ।
बैठकले संघको केन्द्रिय कार्यालयमा भएका आर्थिक अनियमिताको छनविन गर्न एक समितिको गठन गरेको छ । कोषाध्यक्ष हिक्मत थापाको संयोजकत्वमा गठित ७ सदस्सीय समितिमा कुमार पन्त, सपिला राजभण्डारी, कुल आचार्य, सुनिल कार्की, हेमन्त दवाडी रहेका छन् भने कानुनी सल्लाहकारमा शिव रिजाल तोकिएका छन् । बैठकमा शंखमुल पार्कमा भएको आर्थिक घोटालाको बारेमा छनविन गर्न सदस्यहरुले माग गरेका थिए ।

यो समितिमा एक जना व्यवसायिक एकाउण्टेन्ट सदस्य रहने छन् । बैठकले संस्थागत विकासको लागि आर्थिक संकलन गर्न उपाध्यक्ष सपिला राजभण्डारीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
समितिमा कोषाध्यक्ष हिम्मत थापा, सोम सापकोटा र एनआरएनए सिइयो राजेश राना सदस्य रहेका छन् । समितिले संघको विभिन्न राष्ट्रिय समितिमा उठ्न बाँकी रहेको बक्यौता उठाउने जिम्मेवारी समेत पाएको छ ।
बैठकले नेपाल सरकारका बिभिन्न निकायमा हुने नियुक्त र भेटघाटलाई व्यवस्थापन गर्न संघको सचिवालयबाट अनुमति लिनु पर्ने अनिवार्य व्यवस्था गर्ने निर्णय गरेको छ ।
बैठकले संघको आगामी निर्वाचनमा भाग लिने पदाधिकारीहरुको लागि उम्मेदवारी शुल्क वृद्धि गरेको छ ।
नयाँ निर्णय अनुसार संघको अध्यक्ष पदमा उम्मेदवार शुल्क १० लाख तोकिएको छ । यस्तै अन्य पदाधिकारी महासचिव सम्म ७ लाख, सचिव देखि कोषाध्यक्ष सम्म ५ लाख, महिला संयोजक क्षेत्रीय संयोजक, युवा संयोजकको ३ लाख ५० हजार उम्मेदवारी शुल्क तोएिको छ ।

यसअघि अध्यक्षका उम्मेदवारले ४५ सय डलर (करीब २ लाख ९५ हजार) शुल्क बुझाए पुग्ने थियो । उपाध्यक्ष र महासचिवका प्रतिस्पर्धीका लागि तीन हजार ७५० डलर (करीब ४ लाख १२ हजार) सचिव र कोषाध्यक्षका लागि तीन हजार डलर ,सह कोषाध्यक्षलाई दुई हजार ६२५ डलर शुल्क निर्धारण गरिएको थियो । यस्तै महिला ,युवा र क्षेत्रीय संयोजकलाई दुई हजार २५० साथै क्षेत्रीय उपसंमयोजक एक हजार ५०० डलर तोकिएको थियो । सदस्यता शुल्क सम्वन्धी बिषयमा बैठकमा विवाद उत्पन्न भए पछि अध्यक्ष भवन भट्टले एक कार्यकालको लागि मात्र शुल्क बढ्ने गरि निर्णय गर्न प्रस्ताव गरे पछि शुल्क सम्वन्धी विवाद अन्त्य भएको थियो ।

महाधिवेसनका प्रत्यासी महिला तथा युवा क्षेत्रीय उप– संयोजकले एक हजार र आइसिसी सदस्यले शुल्क एक हजार डलर तोकिएको थियो ।

बैठकमा संघका प्रवक्ता भुषण घिमिरेले विद्यालय भर्ना अभियानमा संघको भूमिकाको बारेमा आफ्ना भनाईहरु राखेका थिए । बैठकमा महिला संयोजक रजनी प्रधानले महिला गतिविधी र युवा संयोजक सुदन थापाले युवाहरुको गतिविधीको बारेमा प्रगति प्रतिवेदन पेश गरेका थिए ।

बैठकमा क्षेत्रीय संयोजकहरु सुनिल कार्की (अफ्रिका), गौरी जोशी ( अमेरिका) विक्रम थापा (एशिया), शिव बरुवाल (यूरोप) आरके शर्मा (मध्यपूर्व), धर्मराज अधिकारी (ओसियाना) ले क्षेत्रिय प्रतिवेदन पेश गरेका थिए । बैठकले संघले यसअघि गरेका बिभिन्न एमओयुलाई समेत अनुमोदन गरेको छ ।