४ बैशाख २०८१, मंगलवार
Follow Us

गोलघरको सुरक्षामा प्रश्न

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७६, सोमबार ०३:३२

काठमाडौँ । केन्द्रीय कारागारको गोलघरमा रहेका रमेश बाहुन भन्ने सुजन पौडेल र प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमोद ढुङ्गेलबीच पटक–पटक फोन संवाद भएको घटना सार्वजनिक भएपछि गोलघरको सुरक्षा ब्यवस्थामाथि नै प्रश्न उठेको छ । संगठित अपराध (गुण्डागर्दी) मुद्दामा २०७१ सालमा पक्राउ परेका बाहुनका गतिविधि शंकास्पद देखिएपछि गोलघरमा राखिएको थियो । सुरक्षाका दृष्टिकोणले संवेदनशील गोलघरका कैदीले हप्तामा एक दिन तीनजनासँग फोन सम्पर्क गर्ने सुविधा हुन्छ ।
‘कल डिटेल’ र ‘भ्वाइस रेकर्ड’ हुने ल्याण्डलाइनको टेलिफोन सेटबाट आफन्तलाई फोन गर्नुपर्ने हुन्छ । टेलिफोन संवाद तथा अन्य गतिविधिमाथि सीसी क्यामेराका साथै प्रत्यक्ष रूपमा कारागार कर्मचारी र प्रहरीले सुक्ष्म निगरानी राख्ने गर्छन् ।
सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरका कैदी बाहुन र डीएसपी कुमोदबीचको बाक्लो फोन संवादमा भने सुरक्षा सतर्कता अपनाएको देखिदैन ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्र राठौर अपराधीका लागि कारागार पनि सुरक्षित गृह बन्दै गएको जस्तो देखिएको बताउनुभयो ।
गृह मन्त्रालयले डीएसपी ढुङ्गेललाई शुक्रवार निलम्वन गरेको छ । गत चैत २६ गते रानीवारीमा भएको डकैती घटनामा संलग्न अभियुक्त नैकापका विक्रम श्रेष्ठसँग पनि डीएसपी ढुङ्गेलको बारम्वार फोन सम्पर्क भएको देखा परेपछि निलम्वन गरिएको मन्त्रालयले जनाएको छ ।
पोखरामा घर किन्न जम्मा राखेको तीनकरोड रुपियाँ लुट्ने योजनाअनुरुप हतियार देखाइ रानीवारीस्थित एक ब्यापारीको घरभित्र जवरजस्ती प्रवेश गरेको अभियोगमा प्रहरीले नैकापका विक्रमसहित चन्द्रागिरिका ३८ वर्षीय नवराज तामाङ र नुवाकोट बेलकोटगढीका २८ वर्षीय ‘दीपेश’ भन्ने सन्तबहादुर तामाङलाई पक्राउ गरेको थियो । गाेरखापत्र दैनिकमा खबर छ ।