१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मिल्दै ‘जनयुद्ध’का मित्र

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७६, सोमबार ०३:३६

काठमाडौं । तत्कालीन माओवादीको १० वर्षे सशस्त्र विद्रोहसँगै रहेका दुई मित्र अलग भए । एक प्रधानमन्त्री भए, अर्का उपप्रधानमन्त्रीसम्म भए । तत्कालीन माओवादीबाट प्रधानमन्त्री भएका डा. बाबुराम भट्टराई संविधान घोषणाको केही समयपछि पार्टी परित्याग गरे । नयाँ शक्ति पार्टी गठन गरेका उनले वैकल्पिक शक्ति निर्माणको अभियानमा जुटे ।

माओवादी जनयुद्ध कालमा पार्टीको जनवर्गीय संगठन मधेसी मुक्ति मोर्चाको अध्यक्ष रहेका उपेन्द्र यादवको राष्ट्रिय राजनीतिमा चर्चा थोरै भयो । तर, २०५४ सालमा माओवादी परित्यागसँगै मधेसी जनअधिकार फोरम नेपाल स्थापना गर्दै अगाडि बढेपछि उनको चर्चा राष्ट्रिय राजनीतिमा हुन थाल्यो । खासमा २ माघ २०६४ मा अन्तरिम संविधान जलाएर आन्दोलन घोषणा सुरु गरेपछि यादवको चर्चा अत्यधिक हुन थाल्यो ।
राजनीतिक यात्राका क्रममा डा. भट्टराई अर्थमन्त्री हँुदै प्रधानमन्त्री भए । यादव उपप्रधान तथा परराष्ट्रमन्त्री भए । अहिले पनि यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् । तर, भट्टराई र यादव नेतृत्वको छुट्टाछुट्टै राजनीतिक दलबीच आज एकीकरण हुँदै छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव हुन् भने नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराई हुन् । यी दुई पार्टीबीचको एकीकरण भई ‘समाजवादी पार्टी नेपाल’ घोषणा हुँदै छ । भट्टराई र यादवले एकीकरण गर्ने सहमतिपश्चात् वैकल्पिक शक्ति निर्माण गर्ने अभियान सुरु गरेको प्रतिक्रिया दिएका छन् । राजधानी दैनिकमा खबर छ ।