१५ चैत्र २०८०, बिहीबार
Follow Us

फोटोमा हेर्नुहोस्,पूर्व विद्यार्थीको सहयोगमा निर्मित विद्यालय भवन र अत्याधुनिक मल्टिमिडिया सेन्टर

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७६, सोमबार १७:२५

अमलाचौर । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा हुने बताउनुभएको छ । सरकारले भौतिक र आर्थिक लगानी बढाएर सो लक्ष्य पूरा गर्ने उहाँको भनाई थियो । बागलुङ नगरपालिका–१२ अमलाचौरमा व्यवसायी चन्द्र ढकाल र हेमराज ढकालद्धारा निर्मित पृथ्वी हिरण्य माविको आधुनिक भवनको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सबै नेपालीका छोराछोरीलाई शिक्षा र स्वास्थ्यको सेवा सहज बनाउन सरकार सक्रिय भएको बताउनुभएको हो । राष्ट्रपति भण्डारीले पौष्टिक आहार र शिक्षा नङ मासुझैं भएकोले हरेक बालबालिकाले आधारभूत तहको शिक्षा र पौष्टिक आहारा पाउने अधिकार दिलाउन चासो बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।संघीय सरकार देखि स्थानीय तहसम्मले शिक्षा र पौष्टिक आहारमा लगानी बढाएमा देश विकासमा सहयोग पुग्ने भण्डारीले बताउनुभयो । राष्ट्रपति भण्डारीको उपस्थितिमा पूर्व विद्यार्थी तथा गैरआवासीय नेपालीबाट संकलित ५० लाख रुपैयाँको अक्षयकोषको चेक समेत विद्यालयलाई हस्तान्तरण गरिएको थियो । १४ कोठे नवनिर्मित विद्यालयमा भवन निर्माणका लागि ५ करोड १४ लाख खर्च लागेको थियो । सोही अवसरमा राष्ट्रपतिले विद्यालयका पूर्व विद्यार्थीको सक्रियतामा स्थापना गरिएको मल्टिमिडिया सेन्टरको उद्घाटन तथा अवलोकन समेत गर्नुभएको छ । यसैबीच राष्ट्रपति भण्डारीले स्वर्गीय समाजसेवी हीरण्यप्रसाद ढकालको सालिकको समेत अनावरण गर्नुभएको छ । चन्द्र ढकाल आइएमई ग्रुपका अध्यक्ष हुन् भने उनका भाइ हेमराज ढकाल सोही ग्रुपका डाइरेक्टर हुन् । कार्यक्रममा राष्ट्रियसभाका सदस्य तथा सत्तारुढ दलका नेता दीनानाथ शर्मा, सांसदहरु डा सूर्य पाठक, मना केसी र देवेन्द्र पौडेल, गैरआवासीय नेपाली संघका सल्लाहकार डा हेमराज शर्मा, जनक शर्मा, प्रअ प्रेम प्रसाद चापागाई लगायत उपस्थित थिए ।