१५ बैशाख २०८१, शनिबार
Follow Us

भ्रष्टाचारको ५ करोड कमाइ चारवटी श्रीमतीलाई

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७६, मंगलवार ०३:२५

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोसीका लेखापाल सुरेश अधिकारीविरुद्ध अकुत सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अधिकारीले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक उच्च जीवनशैली यापन गरेको अख्तियारले दायर गरेको उजुरीमा उल्लेख छ । अधिकारीविरुद्ध ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

अधिकारीले आफू र श्रीमतीहरू दुर्गा अधिकारी, दीपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी, सोममाया श्रेष्ठलगायत सासू पुष्पकुमारी निरौला र मामा नाता पर्ने बलराम शर्मासमेतका नाममा सम्पत्ति राखेका अभियोग छ । भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेकाले उनले सो सम्पत्ति राख्नकै लागि चारवटीसम्म विवाह गरेको स्रोतले जानकारी दिएको छ । चारवटै श्रीमतीमाथि पनि अदालतले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनको वैध आम्दानी जम्मा ८८ लाख ३४ हजार ८ सय ८५ देखिएको तर ५ करोड १० लाख ३३ हजार ६ सय ३३ रुपैयाँ अकुत सम्पत्ति कमाएको देखिएको अख्तियारले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।