८ बैशाख २०८१, शनिबार
Follow Us

नृपेश उप्रेतीको ‘बरिलै’ बजारमा

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७६, मंगलवार ०८:२७

नेपाल आइडल सिजन दुईमा चर्चित बनेका कृशल कडेल र मिनराज पौडेल एक साथ ‘बरिलै’ बोलको गीत लिएर आएका छन् । उक्त गीत चर्चित गीतकार नृपेश उप्रेतीले लेखेका हुन । लोक फ्युजन शैलीको ‘बरिलै’ गीतको संगीत समेत गीतकार उप्रेतीले तयार पारेका हुन्।

कृशल र मिनराज दुवैको आवाज रहेको उक्त गीत गीतकार उप्रेतीको युट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ। लामो समय देखि गीत गजल लेखनमा सकृय नृपेशले पहिलो पटक आफैले यो गीतमा संगीत गरेका छन् भने यो गीतको लागि युवा गायक संगीतकार पुरुषोत्तम सुवेदीले वाद्यवादनको संयोजन गरेका छन् ।

म्युजिक भिडियोमा चर्चित मोडल करिश्मा ढकालको साथमा स्वयं कृशल कडेल र मिनराज पौडेलले अभिनय गरेका छन् । यो भिडियोमा चुलबुली मोडल करिश्मा ढकालको अब्बल नृत्य र अभिनय दुवै देख्न सकिने कुरा समेत भिडियोका निर्देशक प्रविन थापाले बताए । कृशल, मिनराज र करिश्माको अभिनयले भिडियो राम्रो बनेको कुरा निर्देशक थापाले बताए । नेपाल आइडलका लोकप्रिय प्रतिष्पर्धीहरु संगको सहकार्य प्रति आफु निकै उत्साहित रहेको कुरा मोडल करिश्माले बताईन । नमराज घिमिरेले यस भिडियोका छायांकन गरेका हुन् भने भिडियो सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन्। भिडियोको निर्माण व्हाइट मिडिया प्रालिले गरेको हो।

नेपाल आइडल सिजन दुईको अडिसनमा मिनराज पौडेल गोल्डेन माइक जित्ने पहिलो प्रतिस्पर्धी थिए भने कृशल कंडेल आफ्नो लुक्स र गायकीका कारणले निकै चर्चित बनेका थिए। यस अघि आएको कृशलको गीत ‘ओढेर घूँघट’ निकै लोकप्रिय भएको थियो। मिनराजको भने यो पहिलो गीत हो ।