१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डोल्पामा अवरुद्ध टेलिफोन सेवा सञ्चालन

sarusaru
२६ बैशाख २०७६, बिहीबार १३:०२

डोल्पा । हिमाली जिल्ला डोल्पामा टेलिफोन सेवा पुनः सञ्चालन भएको छ । तीन दिनदेखि अवरुद्ध भएको सिडिएमए तथा जिएसएम र ल्याण्डलाइन टेलिफोन सेवा आजदेखि नियमित रुपमा सञ्चालन भएको हो ।

त्रिपुरासुन्दरी नगरपालिका–२ मा पर्ने रसी लेखमा राखिएको टावरको ट्रान्समिसन उपकरण मर्मत गरेसँगै सदरमुकाम दुनै, जुफाल र माझफालमा मोबाइल सेवा सञ्चालन भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका उप–निर्देशक शिवराज खनालले जानकारी दिए ।

ठूलीभेरी नगरपालिकाअन्तर्गत दुनै र माझफालमा राखिएको जिएसएम टेलिफोन सेवा सञ्चालन भए पनि जुफालमा राखिएको मोबाइल टावरबाट जिएसएम मोबाइल सेवा सञ्चालन हुन सकेको छैन । जुफालमा राखिएको टावरबाट सञ्चालनमा आइरहेको जिएसएम मोबाइल सेवा सञ्चालन गराउनका लागि काम भइरहेकाले कहिले सञ्चालन हुन्छ भन्न नसकिने क्षेत्रीय उप–निर्देशक खनालले बताए ।

मोबाइल टावरसँगै जुफाल र दुनैमा एडिएसएल इन्टरनेट सेवा पनि सञ्चालन भएको छ । टेलिफोन टावर सञ्चालनमा आएपछि सेवाग्राही खुशी भएका छन् भने टावर नहुँदा प्रभावित भएको सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज गर्नसमेत सञ्चालन भएको छ । रसी लेखमा राखिएको रेडियो लिङ्क टावरमा समस्या आएपछि तीन दिनसम्म डोल्पामा मोबाइल सेवा अवरुद्ध भएको थियो ।
डिसी नेपाल