७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसको देशव्यापी जागरण अभियान बागलुङमा पनि शुरु

sarusaru
२७ बैशाख २०७६, शुक्रबार ०२:४९

बागलुङ, २६ वैशाख – देशव्यापी अभियानको थालनी भएकै दिन कांग्रेसले बागलुङमा पनि एक महिने लामो जागरण अभियान थालनी गरेको छ । उद्योग बाणिज्य संघमा आयोजित एक कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले अभियानको औपचारिक उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै नेता भण्डारीले नेपालमा दुइ तिहाईको नाउँमा निरंकुशता मौलाएको आरोप लगाए । भण्डारीले कम्युनिष्टपार्टीले दुइ तिहाई ल्याएर सरकार गठन गरेपछि नेपाली जनताले दुःख पाउन थालेकोले आरोप समेत लगाए । आर्थिक समृद्धिको नारा लगाएपनि सरकार भ्रष्ट्राचारको दलदलमा फसेको उनको टिप्पणी छ ।

सत्ताबाटै देश र जनतामाथि लुट मच्चिएको, शान्ति सुरक्षा खस्केको र निरंकुशता लाद्न खोजिएकोले कांग्रेसले आफ्नो जागरण अभियान देशव्यापी गर्नुपरेको बताए । निरंकुशताको बिरुद्ध भण्डाफोरको अभियान पनि जागरण अभियानमा जोडिने नेताहरुको दावी छ । पार्टीको संगठन सुदृढीकरण, भातृ संगठनलाई चलायमान बनाउने र जनताको घरदैलो पुग्ने अभियान स्वरुप जागरण अभियान आएको उनले बताए । ‘महासमितिको बैठकको निर्णय अनुसार जनताको घरदैलो पुग्ने अभियानलाई राष्ट्रिय रुप दिइएको हो’ भण्डारीले भने, ‘यो अभिायन जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तह सम्म पुग्नेछ ।’ जिल्लाका सबै वडा र सबै भातृ संगठन सम्म जागरण अभियान संचालन हुने उनले बताए ।

दुई तिहाईको सरकारको गतिविधि देखेर जनता आजित भएको भन्दै उनले कम्युनिष्ट पार्टीलाई भोट दिएर नेपाली जनता पछुताउनु परेको बताए । नेता भण्डारीले देशमा दिन प्रतिदिन हत्या, हिंसा, बलत्कारका घटनाहरु बढ्दै गएको र भ्रष्टचार मौलाउँदै गएको बताउँदै यस्ता गतिविधि सारकारले नियन्त्रण गर्नको साटो भ्रष्टचारी र बलत्कारीलाई संरक्षण गरेको बताए । भण्डारीले नेपाली कांग्रेसले सुरुवात गरेका देश र जनताको हित हुने कार्यहरुलाई अहिलेको कम्युनिष्ट सरकारले सबै आफुले गरेको भन्दै प्रचार गरिरहेको बताउँदै कांग्रेसले लगाएको बाली कम्युनिष्ट सरकारले बाँदर बनेर खाएको आरोप लगाए । ‘अहिलेसम्म दुई तिहाईको सरकारले एउटा पनि सफल काम गर्न सकेको छैन,’ नेता भण्डारीले भने ‘सरकारको काम देखेर नेपाली आजित भई सकेका छन् ।’

उनले देशमा दई तिहाईको सरकार हुँदा पनि देशमा शान्ति र समृद्ध बन्न नसकेको दावी गरे । उनले प्रधानमन्त्रीले जनताको चाहना विपरितका कार्यहरु प्रति उद्धत भएको भन्दै पानी जाहाज र रेलकाभन्दा भोका नाङ्गा जनताको हित हुने कार्य गर्नु पर्ने बताए । ‘सरकारले थालनी गरेको राम्रो कार्यलाई नेपाली कांग्रेसले सक्दो सहयोग गर्न तयार छ,’ उनले भने ‘सकारले हामीसँग समन्वय गर्न खोज्दैन, एकलौटी ढंगले गर्न खोज्छ ।’ जागरण अभियानको उद्धेश्य पनि त्यही भएको उनले बताएका छन् । पार्टी सभापति दिपेन्द्रबहादुर थापाको अध्यक्षता, सचिव नवराज पौडेलको संचालन र कोषाध्यक्ष उमेश गौतमको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
जनमञ्च