७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसभित्रका भ्रष्टाचारमा मुछिए नेतालाई कारवाही हुन्छ : नेता पौडेल

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७६, शुक्रबार ०७:३९

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने बताउनुभएको छ ।

प्रेस युनियन उदयपुरले आज बिहान उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले सो धारणा राख्नुभएको हो ।

पार्टी कामको सिलसिलामा उदयपुर आइपुग्नु भएका नेता पौडेलले अहिले बालुवाटारको जग्गा काण्ड, एनसेलको काण्ड र वाइड वडी काण्डमा विभिन्न पार्टीका नेताहरुको नाम जोडिएको र त्यसमा नेपाली काङ्ग्रेसका पार्टी सभापति शेरबहादुर देउवाकोसमेत नाम जोडिएकोले यदि पुष्टि भए आफूहरु पार्टी सभापति देउवालाई समेत कारवाही गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान सरकारले राम्रो काम गर्ने अवसर पाइरहेको भएता पनि नेपाली जनताले सोचे जस्तो काम गर्न नसकेको धारणा राख्नुभयो ।

नेता पौडेलले अहिले सक्ता पक्ष र विपक्षीबीच वाक युद्ध चलिरहेको र यस्तो वाक युद्धले प्रजातन्त्र र सङ्घीयतालाई बलियो नबनाउने भन्दै सरकार पक्ष र विपक्षी दुवैले बोल्दा संयम भएर शिष्ट तरिकाले संसदीय मर्यादामा रहेर बोल्न सिक्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले काङ्ग्रेस पार्टी लामो इतिहास बोकेको पार्टी भएको कारण पार्टीभित्र सानातिना झिनामसिना कुराले कुनै असर नपार्ने बताउनुभयो ।

वर्तमान सरकारले अब भाषणमा भन्दा बढी कृषि क्रान्ति र पर्यटन विकासमा लाग्न सके नेपालले छिटो विकासमा फड्को मार्ने सुझाव नेता पौडेलले सरकारलाई दिनुभयो ।

पार्टीको महाधिवेशनमा आफूले पनि आवश्यक परे सभापतिको उम्मेदवार बन्न सक्ने नेता पौडेलको भनाइ थियो ।