७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन ओसेनिया सम्मेलन: पशुपतिको जात्रा सिद्राको व्यापार !

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७६, शुक्रबार १३:२०

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएन) विश्व सम्मेलन हुन करीब तीन महिना बाँकी रहँदै नेतृत्व हत्याउन एनआरएनका नेताहरुको दौडधूप तीब्र बनेको छ । एनआरएनले आयोजना गर्ने सानादेखि ठूला फोरमको उद्देश्य निश्चित हुने भएपनि सोसँगसँगै अहिले तबरजस्त रुपमा चुनावी रणनीति पनि सँगसँगै अगाडि आउने गरेका छन् ।
ती फोरमहरुमा आफ्नो उपस्थिति बलियो बनाउन र आगामी निर्वाचनमा आफूलाई सशक्त देखाउन होडबाजी नै चल्ने गरेको छ ।

यस्तैमा आइतबारदेखि सुरु हुन लागेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलनमा पनि त्यस्तै छनक देखिएको छ ।
सो सम्मेलनमा सहभागि हुनका लागि विश्वभरीका गैर आवासीय नेपाली अष्ट्रेलियामा भेला भैरहेका छन् । गैरआवासीय नेपाली संघका प्रवक्ता भुषण घिमिरेका अनुसार संघका केन्द्रिय पदाधिकारी एक साताअघिनै अष्ट्रेलिया पुगेका छन् । ‘साथीहरु आउनेक्रम जारी छ, आइसकेका साथीहरु संस्थागत तथा व्यक्तिगत भेटघाटमा व्यस्त हुनुहुन्छ’, घिमिरेले वताए । उनले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी गराए ।

एनआरएनका उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, डा बद्री केसी अहिले भेटघाटमा व्यस्त रहेका छन् । मुख्यतः उपाध्यक्ष कुमार पन्तले आफ्नो चुनावी रणनितीलाई तिब्र पार्दै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेसँग छुट्टै भेटघाट गरेका छन् । उनी आगामी नेतृत्वका लागि सशक्त दाबेदारको रुपमा हेरिएका छन् ।
पन्तको यहाँस्थित नेपाली जनसम्पर्क समिति लगायतका संघसंस्थाका प्रतिनिधिहरुसँगको भेटघाटलाई तिब्रता दिएका छन् । यस्तै महासचिव डा बद्री केसीले सिड्नी उत्रिएलगत्तै निवर्तमान अध्यक्ष शेष घले तथा जमुना घलेसंघ भेटघाट गरेका छन् । पन्तले नेपाली जनसम्पर्क समितिले आयोजना गरेको एक कार्यक्रममा आगामी नेतृत्व लिन आउन तयार रहेको वताउँदै सहयोगको लागि आग्रह गरेका थिए ।

यस्तै अर्का उपाध्यक्ष कूल आचार्य समेत अष्ट्रेलिया पुगेका छन् । यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता बिष्णु सुवेदी समेत चुनावी रणनीति तय गर्न सकृय रुपमा लागेका छन् । सुवेदीले आगामी अक्टोबरमा हुने संघको विश्वसम्मेलनमा नेपाली कांग्रेस समर्थकहरुले सम्मानजनक उपस्थित हुनु पर्नेमा जोड दिएका छन् ।

आगामी विश्व सम्मेलनमा संघको महत्वपूर्ण जिम्मेवारी लिने तयारीमा रहेका पूर्वप्रवक्ता डा हेमराज शर्मा भने राष्ट्रपति विद्यादेवी भण्डारी उनको गाउँमा आयोजित एक कार्यक्रममा सहभागी हुने भए पछि नेपालमै रहेका छन् । वर्तमान अध्यक्ष भवन भट्ट समेत शनिवार विहान सिड्नी उत्रिने तयारीमा छन् ।

सम्मेलनमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै कानुनमन्त्री भानुभक्त ढकाल आएका छन्। सम्मेलनमा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखकले समेत सहभागीता जनाउने भएका छन् ।

यूरोपका संयोजक शिवकुमार बरुवाल, एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा, क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा. अम्बिका अधिकारीलगायतका नेताहरु समेत सिड्नी आइपुगेका छन् ।

सम्मेलनलाई अष्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यान, एनआरएनका निर्वतमान अध्यक्ष शेष घले, संघका पदाधिकारीहरु लगायतले सम्वोधन गर्ने कार्यक्रमतय गरिएको छ ।

एनआरएन अभियन्ता तथा महावाणिज्यदूत दिपक खडका, जमुना गुरुङ, एनआरएनएन पूर्व प्रवक्ता रञ्जु वाग्ले थापा पनि सम्मेलनमा सहभागि हुने छन् । सिड्नीको हायात रिजेन्सी होटलमा हुने सम्मेलन सम्मेलनमा २० मुलुकका तीन सय भन्दा बढीको सहभागिता रहेको बताएको छ ।

शनिवार देखी दुई दिन सम्मेलनमा गैर आवासीय नेपालीको लगानी, पर्यटन प्रबद्र्धन तथा विदेशी ज्ञान, सिपलाई कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित हुने एनआरएन ओसेनीया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले जनाए ।

कार्यक्रममा क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारी, अस्ट्रेलियामा क्रियाशील डा राजु अधिकारि, डा कुश श्रेष्ठ, डा कृष्ण हमाललगायतले विभिन्न बिषयमा कार्यपत्र पेश गर्ने भएका छन् ।

सदस्यता संख्याको हिसावले अष्ट्रेलिया सबै भन्दा ठूलो राष्ट्रिय समिति हुने पक्का भए पनि संघका पदाधिकारीहरुले आफ्नो चुनावी रणनीति अष्ट्रेलिया फोकस गरेका हुन् । कतिपय एनआरएनले ओसेनिया सम्मेलनलाई ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भन्दै टिप्पणी समेत गर्न थालेका छन् । अर्थात ओसेनिया सम्मेलन भनिए पनि सँगसँगै चुनावी माहोल सिर्जना गर्ने फोरमको रुपमा एनआरएन नेताहरुले भरपूर उपयोग गरेका छन् ।

अघिल्लो विश्वसम्मेलनमा एनआरएन अध्यक्ष भवन भट्टसँग कुमार पन्तले नेतृत्व लिने गरी भद्र सहमति भएको बताइन्छ ।
अष्टेलियाले आगमी विश्व सम्मेलनमा १ सय ५० भन्दा बढी महाधिवेशन प्रतिनिधी पठाउन पाउने छ भने ६ जना भन्दा बढी केन्द्रीय सदस्य रहने छन ।