१२ बैशाख २०८१, बुधबार
Follow Us

जमीनमुनिबाट थप सुनचाँदी भेटियो

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७६, शुक्रबार १६:३२

अछाम–क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ ।

यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा आज थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको हो ।

भवनको जग खन्ने क्रममा सुन भेटाएका मजदूरमा भागबण्डा नमिलेपछि कुरा बाहिर आएको थियो भने उनीहरुको साथमा रहेको सुन प्रहरीको संरक्षणमा राखिएको छ । सात मजदूरलाई नियन्त्रणमा लिएर थप सोधखोज गर्दा पछिल्ला दिनहरुमा थप सुन फेला पर्दै गएको थियो ।

क्याम्पस भवन निर्माणस्थललाई प्रहरीले निगरानीमा राखेर जमीनमुनि अझै पनि जमीनमुनि सुन रहेको आशङ्कामा माटो चाल्ने क्रममा थप सुन फेला परेको वडा नं २ का अध्यक्ष कालु सिंह कुँवरले जानकारी दिए । जमीनमुनिबाट हालसम्म १०५ तोला सुन र ४०० तोला चाँदी फेला परेको वडाध्यक्ष कुँवरले जानकारी दिए ।

यसैबीच नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले सुन भेटिएको श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पस भवन निर्माणस्थलको स्थलगत अवलोकन गरेका छन् ।
सुन भेटिएको स्थानको निरीक्षणपछि नेता रावलले पुरातात्विक गहनाको संरक्षणका लागि श्रीकोटमा सङ्ग्रहालयको स्थापना गर्नुपर्ने बताए ।