७ बैशाख २०८१, शुक्रबार
Follow Us

धवलागिरीमा चल्ने सार्वजनिक बसमा ‘फस्ट एड बक्स’

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७६, शनिबार ०६:११

गलकोट : वेलनेश टिम काठमाडौँको सहयोगमा धवलागिरी अञ्चल यातायात बस व्यवसायी समितिद्वारा चल्ने बसमा औषधि सेवा उपलब्ध गराउन शुरु गरिएको छ ।

समिति मातहतमा रहेका २०० बसमा यात्रुलाई सेवा प्रदान गर्नका लागि औषधिको फस्ट एड बक्स (पहिलो सहायता बक्स) राख्न शुरु गरिएको धवलागिरि अञ्चल यातयात बस व्यवसायीले जनाएको छ । नेपालमै पहिलोपटक बागलुङदेखि सञ्चालन हुने बसमा औषधिको बक्स राख्न शुरु गरिएको बेलनेश टिमका अध्यक्ष नितु खड्काले बताउनुभयो । बसमा यात्रा गर्दा बीच बाटोमा यात्रु बिरामी हुँदा प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले औषधिको बक्स वितरण गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।

स्वास्थ्यको बारेमा जनचेतना जगाउन र आफूलाई के रोग लागेको छ र कुन विशेषज्ञलाई जचाउनुपर्दछ भन्ने जानकारी कार्यक्रमले प्रदान गर्नेछ । बसलाई बक्स वितरणसँगै औषधिको प्रयोगका बारेमा पर्चासहित तालीम दिइने अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

औषधि बक्स सर्वसाधारणलाई समेत वितरण गर्ने वेलनेशले जनाएको छ । रु एक हजारमा वितरण गर्ने जनाएको वेलनेशले आर्थिक अवस्था कमजोर भएको परिवारलाई न्यूनतम रु ५० सम्ममा वितरण गर्ने जनाएको छ । बक्समा सामान्य चोटपटक लाग्दा घाउँमा लगाउने औषधि, टाउको दुखेको, पेट दुखेको, बमिट नआउने, जीवनजल, उच्च रक्तचापलगायत १६ प्रकारका औषधि र औजार रहेको वेलनेश टिमका सचिव ओमविक्रम खड्काले जानकारी दिनुभयो ।

बसमा यात्रा गर्दा बिरामी भएर यात्रुलाई असहज हुने गरेकाले त्यसको अन्त्यका लागि बसमा प्राथमिक उपचारका औषधि राखिएको धवलागिरी अञ्चल यातायात बस व्यवसायी समितिका अध्यक्ष उमेश केसीले बताउनुभयो । बसमा राखिएका औषधि यात्रुलाई निःशुल्क वितरण गरिने जानकारी उहाँले दिनुभयो ।

बागलुङदेखि काठमाडौँ, पोखरा, बुटवल, नेपालगञ्ज, नारायणगढ, वीरगञ्जलगायतका ठाउँमा चल्ने समितिका यातायातमा सो औषधि बक्स राख्ने धवलागिरी बस व्यवसायी समितिले जनाएको छ । औषधि बक्स समितिका अध्यक्ष उमेश केसीलाई हस्तान्तरण गरिएको छ ।