१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यस्ता छन् एनआरएन ओसेनिया क्षेत्रीय बैठकका ९ निर्णय

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७६, आईतवार ०५:४३

सिड्नि–गैर आवासीय नेपाली संघ (एनआरएन) तेस्रो ओसेनिया क्षेत्रीय बैठक अस्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको प्रमुख अतिथ्यता र अस्ट्रेलियन सरकारका केद्रिय अध्यागमन मन्त्री डेभिड कोलमनको बिशेष उपस्तिथिमा सम्पन्न बैठकले विभिन्न ९ बुँदे निर्णय गरेको ओसिनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले सामुहिक लगानी फण्डमार्फत नेपालको जलविद्युतलगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता गरिएको छ।
यस्तै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम संचालन गर्ने, महिला शशक्तिकरण अभियानको थालनी र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने कार्ययोजना ल्याउने, विदेशमा रहेका नेपाली ज्ञाताहरुको सिप, ज्ञान र प्रबिधीलाई नेपालको विकाशमा लगानी गर्ने वातावारण बनाउने निर्णय बैठकले गरेको छ ।

यसैगरी नेपाल र अस्ट्रेलिया बीचमा आपसी सहयोग सद्भावलाई कायम राख्न अस्सीमेड फाउन्डेसन अष्ट्रेलिया र नेपाल साइन्स फाउन्डेसनबीच सहकार्य गर्नेगरी समझदारी पनि भएको छ ।
यस्तै ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मुलधारमा समाहित विशेष कार्यक्रम सञ्चालन गर्दै नेपाली बालबालिकालाई नेपाली भाषा सस्कार संस्कृति सिकाउने कार्यक्रमहरु तय गर्ने निर्णय पनि बैठकले गरेको अधिकारीले जानकारी दिए ।

बैठकले एनआरएन नेपाली नागरीकता वितरण गर्न र नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सम्पूर्ण ब्यबस्था ऐनमै गर्न सरकारलाई अनुरोध गरेको छ। बैठकले अस्ट्रेलियन सरकार तथा राजनीतिक दलहरुको नेपाली समाज संग सहयोग र सहकार्य गर्ने प्रतिबद्ताको स्वागत गरेको गर्दै कार्यक्रम सफल बनाउन सहयोगी भूमिका खेल्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ।
शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको सम्मेलनमा प्रदेश सांसद बिष्णु पन्थी, अस्ट्रेलियाका सिनेटर क्लेयर मुर, संघका अध्यक्ष भबन भट्ट, निबर्तमान अध्यक्ष डा. शेष घले संघका पधादिकारी तथा मानार्थ समिति सदस्यहरु सहित १४ राष्ट्रका ३०० भन्दा बढीको सहभागिता रहेको उपाध्यक्ष कुमार पन्तले जानकारी दिए ।

१४ राष्ट्रका ३०० भन्दा बढीको सहभागितामा सम्पन्न बैठकले गरेका निर्णयहरु

१. गैरआवासीय नेपालीहरुको सामूहिक लगानीलाई नेपालको समृद्धिमा सहयोग पुग्ने गरी परिचालन गर्न स्थापित हुने सामूहिक लगानी कोष, जलविद्युत, लगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता यो बैठक गर्दछ ।
२. नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपाली संघले अघि सारेको ‘नेपाल प्रवर्द्धन वर्ष २०१९’ अभियानलाई विभिन्न प्रवर्द्धनातमक कार्यक्रम सञ्चालन गरी भ्रमण वर्ष २०२० लाई सफल बनाउने निर्णय गरियो ।
३. महिला सशक्तिकरण अभियानको थालनी र महिला उद्यमशीलतालाई प्रोत्साहन दिन कार्ययोजना अगाडि बढाउने निर्णय गरियो । स्वदेश तथा विदेशमा हुने घरेलु हिंसाविरुद्ध जनचेतना अभियान सञ्चालन गर्दै गैरआवासीय नेपाली अभियानको मूलधारमा महिला सहभागिताको सुनिश्चितता गराउने निर्णय गरियो ।
४. गैरआवासीय नेपाली संघले Knowledge City र Academyको प्रस्तावलाई आत्मसात् गरी कार्यान्यन गर्न प्रमुख भूमिका खेल्ने र विदेशमा रहेका नेपाली ज्ञाताहरुको सीप, ज्ञान र प्रविधिलाई नेपालको विकासमा लगानी गर्ने वातावारण बनाउने निर्णय गरियो ।
५. नेपाल र अस्ट्रेलिया बीचमा आपसी सहयोग सद्भावलाई कायम AussieMed Foundation Australia र Nepal Science Foundation, NRNA बीचमा सहकार्य गर्ने निर्णय गर्दै आपसी सम्झौतामा हस्ताक्षर सम्पन्न भयो ।
६. ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मूलधारमा समाहित गर्न उनीहरुका निम्ति उपयोगी र आकर्षण गर्न सकिने कार्यक्रमहरु तय हुनुपर्ने महसुश गरी आगामी दिनमा यसतर्फ विशेष ध्यान दिनुका साथै यस क्षेत्रका गैरअवासीय नेपाली बालबालिकालाई नेपालीभाषा, संस्कार, संस्कृति सिकाउने कार्यक्रमहरु तय गर्ने निर्णय गरियो ।
७. आवश्यक कानुन निर्माण गरी तत्काल गैरआवासीय नेपाली नागरिकता वितरण गर्न र नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सम्पूर्ण व्यवस्था ऐनमै गर्न यो बैठक सम्बधित निकायलाई अनुरोध गर्दछ ।

८. अस्ट्रेलिया सरकार तथा राजनीतिक दलहरुको नेपाली समाजसँग सहयोग र सहकार्य गर्ने प्रतिबद्ताको यो बैठक स्वागत गर्दछ ।
९. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, अस्ट्रेलिया सरकार, अस्ट्रेलियास्थित नेपाली दूतावास, सम्पूर्ण एनसीसीहरु, आयोजक राष्ट्र अस्ट्रेलिया र प्रायोजकहरु स्वयंसेवी, पत्रकार, कलाकार सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

गैरआवासीय नेपाली संघ

मितिः १२ मे, २०१९
(ओसिनिया क्षेत्रीय संयोजक, धर्मराज अधिकारीद्वारा जारी विज्ञप्तिमा आधारित)