८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनको बालुवाटारको जग्गाबारे बोले अध्यक्ष र पूर्वअध्यक्ष, सरकारले फिर्ता लगे क्षतिपूर्ति दिनुपर्ने

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७६, आईतवार ०७:१७

सिड्नी– गैरआवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान अध्यक्ष शेष घलेले बालुवाटारमा रहेको एनआरएनको भवनमा रहेको जग्गा सबै कानुनी प्रक्रिया पूरा गरेर किनिएको बताएका छन् ।
उनले सरकारका सबै निकाय र वकिलहरुले ठीक छ भनेपछि जग्गा खरिद गरिएको स्पष्ट पारे ।

अष्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया क्षेत्रको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सबै प्रक्रियाबाट ठीक भएको प्रमाणित भएपछि अन्तिममा हस्ताक्षर गरेर बालुवाटारमा जग्गा किनिएको बताए ।

यस्तै एनआरएनएका अध्यक्ष भवन भट्टले बालुवाटारस्थित संघ कार्यालय रहेको जग्गा सरकारले फिर्ता लगेमा क्षतिपूर्ति दिनुपर्ने बताएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टले भने, ‘यदि सरकारले यो गलत काम भयो भन्छ भने त्यसमा हाम्रो जति खर्च भएको छ त्यो सरकारले क्षतिपूर्ति दिनुपर्छ। बकाइदा राजश्व तिरेर, लालपूर्जा लिएर, नगरपालिकाको निर्माण अनुमति लिएर र भवन सम्पन्नको सर्टिफिकेट लिइसकेको सम्पत्तिलाई कसरी फिर्ता लान पाइन्छ ?’

मन्त्रिपरिषदबाट निर्णय गराएरै जग्गा लिएको उनको भनाइ थियो। आवश्यक परे फेरि पनि मन्त्रिपरिषदबाट निर्णय गराउने उनले बताए।
एनआरएनएले २०७२ जेठ १४ गते ललिता निवास क्याम्पाभित्रको जग्गा खरिद गरेको थियो। तत्कालीन उपाध्यक्ष भट्ट त्यतिबेला जग्गा खरिद गर्ने कार्यका लागि एनआरएनएद्वारा गठित समितिको संयोजक थिए। भाटभटेनी मालिक मीनबहादुर गुरुङसँगको साँठगाँठमा संघले सो जग्गा खरिद गरेको थियो। तर सो जग्गा सरकारकै सहमतिमा खरिद गरिएको यसअघि नै खुलासा भइसकेको छ ।
खुलासासम्बन्धी समाचारको लिंकः सरकारकै सहमतिमा एनआरएनले बालुवाटारको जग्गा किनेको खुलासा (प्रमाणसहित)