१५ बैशाख २०८१, शनिबार
Follow Us

मेलम्ची खानेपानीसहितका राष्ट्रिय गौरवका आयोजना अलपत्र

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७६, मंगलवार ०२:५८

काठमाडौं। मेलम्ची खानेपानी आयोजनासहित विभिन्न राष्ट्रिय गौरवका आयोजना निर्माणको काम लक्ष्यअनुरूप अघि नबढेर अलपत्र परेका छन् । यस्ता अलपत्र आयोजनाबारे संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका चारवटा आयोजनाको अवस्था कमजोर रहेको औंल्याउँदै ती आयोजनाको समग्र वस्तुस्थिति तथा कार्यान्वयनमा देखिएको समस्याबारे सम्बन्धित मन्त्रालय र सरोकारवालासँग जानकारी माग गरेको छ । समितिको सोमबारको बैठकले मेलम्ची खानेपानी आयोजना, बूढीगण्डकी जलविद्युत् परियोजना, काठमाडौं–तराई–मधेश द्रुतमार्ग र जनता आवास कार्यक्रमबारे सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायका पदाधिकारीसँग जानकारी लिने निर्णय गरेको हो ।

केही समयअघि महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६आंै वार्षिक प्रतिवेदनले पनि राष्ट्रिय गौरवका आयोजनाको अवस्था सन्तोषजनक नभएको आंैल्याएको थियो । समितिका सदस्य सुरेन्द्रराज पाण्डेले राष्ट्रिय गौरवका आयोजनामध्ये मेलम्ची खानेपानी आयोजना इटाली निर्माण कम्पनीले छोडेर गएपछि कुन ढाँचाबाट अघि बढाउने भन्ने सरकारबाट निर्णय नभएकाले निर्माणको गति शून्य रहेको बताए ।
सरकारले कसरी काम अघि बढाउने भनेर निर्णय नगरेकाले गति शून्य छ भन्दै उनले अहिले यस आयोजनाले सरकारको निर्णय कुरेर बसेको जानकारी गराए । समितिका अर्का सदस्य जीवनबहादुर बुढाले कतिपय राष्ट्रिय गौरवका आयोजना पूरा गर्न दिएको अवधि र हालको प्रगति हेर्दा ठट्टा गरेजस्तो भान हुन्छ भन्दै मेलम्ची गौरवको आयोजना भनिए पनि काम गर्ने तौरतरिका र प्रगति हेर्दा सन्तोष मान्न सकिने अवस्था नभएको बताए ।राजधानी दैनिकमा खबर छ ।