७ बैशाख २०८१, शुक्रबार
Follow Us

बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन स्वामी अरुणको आह्वान

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७६, मंगलवार १२:३१

काठमाडौँस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बैशाख महिनामा पर्ने बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन आह्वान गरेका छन्।

२५६३ औं बुद्ध जयन्तीको अवसरमा एक संदेश दिंदै स्वामी अरुणले इसाई, इस्लाम तथा हिन्दु धर्मले प्रार्थना र पूजामा जोड दिएको तर बुद्ध धर्ममा ध्यानलाई जोड दिइएको बताए। उनले भगवान बुद्धले ध्यानका साथै शील, समाधि र प्रज्ञाको अभ्यासद्वारा आत्मरुपान्तरण गर्ने शिक्षा सिकाएको पनि स्मरण गरे।

विश्व स्वास्थ्य संगठनले सन् २०२७ सम्ममा तनाव विश्वमै मानिसहरुको मृत्युको एउटा प्रमुख कारण हुनसक्ने जनाएको बताउंदै स्वामी अरुणले अव्यस्थित जीवनशैलीका कारण संसारभरि नै तनाव एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा देखिएको बताए।

“कुनै औषधि खाएर तपाईंले तनाव निवारण गर्न सक्नुहुन्न। यसका लागि जीवन शैली व्यवस्थापन र ध्यान नै एकमात्र उपाय हो,” उनले भने।

स्वामी अरुणले भारत सरकारको पहलमा संयुक्त राष्ट्र संघले जून २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन शुरु गरेको स्मरण गर्दै बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्र संघमा लैजान नेपाल सरकारलाई आग्रह पनि गरे।

“आफ्नो जीवनलाई शान्त र सुखी बनाउन हरेक व्यक्तिले प्रत्येक दिन कम्तिमा २० मिनट ध्यान गर्नुपर्दछ। त्यस्तै विश्व नेताहरुले पनि नियमितरुपमा ध्यान गर्न शुरु गर्ने हो भने संसारभरि युद्ध, द्वन्द्व र हिंसा धेरै हदसम्म समाप्त हुने थियो,” स्वामी अरुणले भन्नुभयो।

स्वामी अरुणले ध्यानलाई विद्यालयहरूका पाठ्यक्रममा राख्न पनि आग्रह गरेका छन्।

लन्डनको ट्राफलगर स्क्वायरमा आइतबार बेलुका आयोजित समारोहमा स्वामी अरुणको सन्देश बजाइएको थियो।

यो लिंकमा गएर स्वामी आनन्द अरुणको भिडिओ सन्देश हेर्न सकिन्छ: