१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन युकेमा त्रिपक्षीय भिडन्त, मिडल्याण्डबासीको मन जित्ने प्रयास

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७६, बुधबार ०८:५३

लन्डन । सोमबार मिडल्याण्डमा धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाको सहयोगार्थ एक च्यारिटी कार्यक्रमको आयोजना गरियो । च्यारिटी कार्यक्रममा अर्को रोचक पक्ष के रह्यो भने कार्यक्रम एकाएक एनआरएन चुनावमय बन्यो ।
नेपाली सेफ एसोसिएयन युकेको आयोजनामा गरिएको कार्यक्रम थियो त्यो । जहाँ उपस्थित गैरआवासीय नेपाली संघ (एनआरएन) युकेका पूर्वअध्यक्षहरुले आफ्नो मन्तव्यबाट मतदाताको मन जित्न समय खर्चिए ।
आगामी सेप्टेम्वर महिनाको दोस्रोसाता हुने निर्वाचनको लागि उपाध्यक्षत्रय पुनम गुरुङ शेर सुनार र प्रेम गाहा मगरले मन खोलेरै भोट मागे ।
पूर्व गोर्खा समेत रहेका मगरले आफूले युवाहरुको लागि काम गर्दै आएको बताउँदै विगत १६ वर्षदेखि गैरआवासीय नेपाली संघलाई नजिकबाट नियालेको तर संघको भित्र धेरै कमीकजोरी रहेको दावी गरे । उनले मान सम्मान प्रतिष्ठाको लागि आफूले उम्मेदवारी नदिएको बताउँदै वेलायतमा बस्ने नेपालीको कामदार भएर काम गर्न इच्छुक रहेको वताए ।

यस्तै अर्का उपाध्यक्ष शेर बहादुर सुनारले सन् २००३ सालदेखि गैरआवासीय नेपाली संघमा आबद्ध भए पनि कुनै पनि पदको लागि दावी नगरेको चर्चा गर्दै आफ्नो लामो अनुभवको आधारमा अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका बताए । उनले हाम्रो मान्छे मात्र होइन राम्रो मान्छे चुन्न पनि आग्रह गरे । सुनारले मिडल्याण्डबासीको एकताको प्रसंसा समेत गरे ।

यसैबीच बेलायतमा सक्रिय मध्यका एक पत्रकार फडिन्द्र भट्टराइ समेत सो मञ्चको सदुपयोग गर्न पछि परेनन् । कार्यक्रममा शुभकामना मन्तव्य दिँदै भट्टराईले गैरआवासीय नेपाली संघ बेलायतको महासचिवमा उम्मेदवारी दिने औपाचारिक घोषणा गरे । उनले गैरआवासीय नेपाली संघको निर्वाचनले दुरगामी महत्व राख्ने बताउँदै आफूले संघको यसअघिको कार्यसमितिका काम गरेको अनुभव सुनाए । उनले संघको अभियानमा पदमा रहे पनि नरहे पनि उत्तिकै सकृय भएर रहने वताए । उनले निकट भविष्यमा आफ्ना प्रतिबद्धता सहित जनसमक्ष आउने बाचा गरे ।

५ सय भन्दा बढी नेपाली समुदायको उपस्थित रहेको कार्यक्रमलाई सदुपयोग गर्दै अर्की उपाध्यक्ष पुनम गुरुङ समेतले मौकामा चौका हान्न पछि हटिनन् । उनले गैरआवासीय नेपाली अभियानमा आफूलाई शसक्त रुपमा प्रस्तुत गर्दै बर्मिघमबासी नेपाली समुदायत समक्ष आफुले अध्यक्ष पदमा उम्मेवारी घोषणा गर्न पाउँदा खुशी लागेको वताइन् ।

उनले गैरआवासीय नेपाली संघ युकेमा सक्षम र नेपाली हितको लागि काम गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको विचार व्यक्त गरिन् । उनले संघको नेतृत्व पुरुषले मात्र होइन अब महिलाले पनि गर्न सक्छन भनेर प्रमाणित गर्नु पर्ने बेला आएको वताइन् । उनले महिलामाथि हुने अन्यायको बिरुद्ध लड्ने प्रतिबद्धता गर्र्दै सबै महिलाहरुलाई आफूलाई साथ दिन आग्रह गरिन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिम्खडाले संघको नेतृत्वमा मिडल्याण्डबासीले दरर्विलो रुपमा प्रस्तुत गर्न आग्रह गरे । उनले गैरआवासीय नेपाली अभियानमा नेतृत्वमा पुग्नको लागि मिडिल्याडबासीको ऐक्यबद्धतामा जोड दिए ।

कार्यक्रममा बोल्ने मौका पाएका यति नेपाली एसोसियसन युकेका सचिव कृष्ण पौडेल समेत संघको आगामी निर्वाचनमा आफूले उम्मेदवारी दिने घोषणा गरे पनि पद भने खुलाएनन् । उनले कार्यक्रममा अध्यक्ष पद बाहेक अन्य जुनसुकै पदमा उम्मेदवारी दिने भन्दै आफूलाई फितलो रुपमा प्रस्तुत गरेका थिए ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दधि आचार्यले गरेका थिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी, मनकामना महिला समूहकी उपाध्यक्ष देवी सापकोटा, गल्कोट नेपाली समाज यूके अध्यक्ष राजु कंडेल, सिर्जनशील समाजकी कोपिला अधिकारी, शान्ति नेपाली समाज यूके अध्यक्ष लिला बहादुर थापा, हाम्रो नेपाली समाज अध्यक्ष शिव खरेल, नटिंगहम नेपाली समाज अध्यक्ष गोविन्द खरेल लगायतले कार्यक्रमका सफलताका लागि शुभकामना मन्तव्य दिएका थिए ।

मिडल्याण्डको ओल्डवरीस्थित द स्यामसन ब्यांकेटिङमा आयोजित कार्यक्रममा वेलायतस्थित नेपाली सेफहरु, संघसँस्थाका प्रतिनिधीहरु, व्यवसायीहरु, पत्रकार लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा चर्चित कलाकारहरु प्रिति आले, कुलेन्द्र बिक, अर्जुन काफ्ले, दीपाशा जलपरीलगायतको विशेष प्रस्तुति थियो ।

कार्यक्रममा स्थानीय कलाकारहरु शिक्षा पौडेल, चञ्चल पन्थी लगायतको पनि प्रस्तुती रहेको थियो । सो च्यारिटी कार्यक्रमबाट १० लाख रुपैयाँ संकलन भएको संस्थाका संस्थापक अध्यक्ष कृष्ण तिमल्सिनाले जानकारी दिए ।