७ बैशाख २०८१, शुक्रबार
Follow Us

कस्तो आउनुपर्छ बजेट ?

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७६, बुधबार १२:४०

काठमाडौं । अर्थविद्हरुले संघीयता बलियो बनाउने खालको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बजेटविशेष साक्षात्कारमा बोल्दै पूर्व मुख्य सचिव डा। विमल कोइरालाले कर्मकाण्डी र अग्ला अग्ला प्रतिज्ञा गर्ने खालको बजेट ल्याउन नहुने स्पष्ट पारे ।
साक्षात्कारमा बोल्दै कोइरालाले भने, ‘यसअघिका बजेटहरु प्रचारबाजी र प्रियतावादका लोभले गाँजेको थियो । पूरा नहुने कुरा धेरै हुन्थे । बजेटको पुस्तिका फोहोर भयो ।’ संघीयताको आभास नहुने बजेट ल्याउन नहुने उनको सुझाव छ ।
सरकारले जनतासामू देखाएको आशा पूरा गर्नुपर्नेपनि उनको भनाई छ ।
उनले भने,‘हाम्रो स्रोतको आयतन साँघुरो छ । सरकारले अब प्राथमिकताहरु तोक्नुपर्छ । जनताका जीवनमा परिवर्तन ल्याउने कार्यक्रमहरु ल्याउनुपर्छ । पेचिला प्रश्नहरु सामना गर्ने कार्यक्रम ल्याउनुपर्छ ।’
क्षणिक तुष्टिको निम्ति दिर्घकालीन सन्तुष्टिलाई तिलाञ्जली दिन नहुने उनले तर्क गरे ।
सरकारले अघि सार्ने कतिपय परियोजनाहरु राजनीतिक रुपले ठिक भएपनि सामाजिक–आर्थिक दृष्टिकोणले ठिक नहुनेपनि उनले सचेत गराए ।
उनले भने, ‘मुख्य कुरा हामीले स्रोतको आयतन बढाउनुपर्छ । र, मुलुकको सामथ्र्य पनि बढाउनुपर्छ ।’ संघीयता कार्यान्वयनको लागि छरितो केन्द्रको कल्पना गरिने बताउँदै प्रदेशले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने कोइरालाले बताए ।
त्यस्तै, स्थानीय सरकारलाई बलियो बनाउनुपर्नेमा पनि उनले जोड दिए ।
सरकारले न्यायपूर्ण वितरण प्रणालीलाई बढावा दिनुपर्ने उनको अर्को सुझाव छ । उनले भने,‘न्यायपूर्ण वितरण प्रणाली स्थापना गरेर तल्लो तहको आकांक्षा सम्बोधन गर्नुपर्छ । यसो गर्न सकियो भने ठूलो उपलब्धि हुन्छ । उग्र महत्वकांक्षी परियोजनाहरु राखेर हुँदैन्, बोलेका कुरा पूरा गर्ने खालका परियोजनाहरु राख्नुपर्छ ।’
कोइरालाले केन्द्र सरकारले कठोरताका साथ प्राथमिकताहरु निर्धारण गर्नुपर्ने धारणा राखे ।
उत्पादकत्व बढाउनुपर्ने र शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईलगायत आधारभुत कुरामा जनताको पहुँच हुनुपर्ने पनि उनले स्पष्ट पारे ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले संघीयतालाई जोडदार रुपमा कार्यान्वयन गर्ने खालको बजेट आउनुपर्ने सुझाव दिए ।
क्षेत्रीले संघले ठूला–ठूला आयोजना, प्रदेशले मझौला र स्थानी सरकारले सानातिना आयोजनाहरु हेर्नेगरि बजेट ल्याउन सरकारलाई सुझाए । उनले खर्च गर्न नसक्ने बजेट ल्याउन नहुनेपनि तर्क गरे ।
विगतमा एक सातामा कुल बजेटको ११ प्रतिशत बजेट खर्च भएको तितो सुनाउँदै बजेटको कार्यान्वयनको अनुगमनमा पनि विशेष जोड दिनुपर्ने धारणा राखे । त्यस्तै, रकमान्तर गर्ने कुरापन िसंवेदनशील रहेकोले यसतर्फपनि सरकार सचेत हुनुपर्ने उनको भनाई छ ।
वर्तमान सरकारलाई समाजवादउन्मुख अर्थतन्त्रको दिशा समात्ने अवसर भएकोले नेतृत्वले अवसर गुमाउन नहुने पनि क्षेत्रीले बताए ।
अर्का अर्थविद् डा। चन्द्रकान्त पौडेलले योजना आयोगको १५ औं योजनासँग अब आउने बजेट हार्मोनाईज हुनुपर्नेमा जोड दिए । उनले भने,‘अहिले दुई तिहाई बहुमतको स्थायी सरकार छ । संस्थागत सुधारहरु देखा परेका छन् । भर्खरै उत्साहजनक लगानी सम्मेलन भएको छ ।’
उनले पपुलिष्ट र महत्वकांक्षी बजेट ल्याउन नहुने सुझाव दिए । उनले भने,‘साहसपूर्ण प्रस्तुति हुनुपर्छ । समाजवादी अर्थतन्त्रको लक्षण देखिनुपर्छ । अहिलेको बजेट समाजवादी बजेट आउने संकेत प्राप्त भएको छ ।’ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा र दोहोरो अंकको आर्थिक वृद्धिद्धरको कुरा उल्लेख भएको सुनाउँदै उनले यो राम्रो पक्ष भएको जिकिर गरे ।
पौडेलले पूर्वाधार विकासमा जोड दिनेगरि बजेट आउने विश्वास दिलाए । उनले भने,‘स्वाधिन अर्थतन्त्रको लक्षण शिरोधार्य गर्नुपर्छ ।’ मुलुकको व्यापार घाटालाई सम्बोधन गर्नेगरि बजेट आउनुपर्ने उनको सुझाव छ ।’ औद्योगिक क्षेत्रलाई पनि विशेष जोड दिनेगरि बजेट आउनुपर्ने पौडेलको भनाई छ ।