१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘तमसुक’ लोकार्पण

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७६, बिहीबार १६:०२

अमेरिकामा बसोबास गर्दै आउनुभएका साहित्यकार पदम विश्वकर्माले लेख्नुभएको कथासङ्ग्रह ‘तमसुक’ आज लोकार्पण गरिएको छ । शिखा बुक्स र ज्ञानज्योति पब्लिकेशकनको आयोजनामा भएको कार्यक्रममा नेपाल प्रज्ञा– प्रतिष्ठान, गद्य तथा आख्यान विभाग प्रमुख माया ठकुरीले समाजका घटनालाई जस्ताको तस्तै कथामा उतारेर लेखकले सङ्ग्रहलाई पठनीय बनाएको बताउनुभयो ।

“पुस्तक पढ्दा निकै आनन्द आयो” उहाँले भन्नुभयो, “समाज र हाम्रो परिवेशअनुकूलका कथाहरुले जो कोहीलाई पनि भावुक बनाउँछ ।” उहाँले वर्तमान समयमा पाठकले आख्यानलाई रुचिका साथ पढ्ने गरेकाले साहित्यकारले परिष्कृत ढङ्गको लेखन शैलीलाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
समालोचक ज्ञानु अधिकारीले सङ्ग्रहले परम्परागत जीवनशैलीसँगै २१ औँ शताब्दीको आधुनिकतालाई पनि समावेश गरेको बताउनुभयो

लेखक विश्वकर्माले गरीबी र अभावबाट पिल्सिएको नेपाली समाजको वास्तविकता ‘तमसुक’ बाट उजागर गर्न खोजेको बताउनुभयो । अन्तरराष्ट्रिय नेपाली साहित्यका समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले कथामा नेपाली समाजको मौलिकता पाइने हुँदा एक पटक सबैले पढ्नुपर्ने बताउनुभयो ।

साहित्यकार खगेन्द्रप्रसाद लुइँटेलले लेखकले नेपाली साहित्यलाई अन्तराष्ट्रियकरण गर्नमा ठूलो योगदान पुर्‍याएको बताउनुभयो । कार्यक्रममा नेपाल लघु तथा समाजका अध्यक्ष श्रीओम रोदन, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज नेपालका महासचिव सन्ध्या पहाडी, सचिव बाबा बस्नेत, साहित्यकार दामोदर पुडासैनीलगायतले मन्तव्य राख्नुभएको थियो ।