दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र सुधारको खाँचो रहेको बताएका छन्। राष्ट्रिय जागरण अभियानको क्रममा नेपाली काङ्ग्रेस क्षेत्र नं १ तनहुँले आज बन्दीपुरको डुम्रेमा आयोजना गरेको क्षेत्रीय भेलामा वरिष्ठ नेता पौडेलले पार्टीकै नेताहरुको कार्यशैली सुध्रन नसके पार्टी बलियो हुन नसक्ने बताए।

महासमिति बैठकबाट पारित भएको समावेशी विधान उल्ट्याउन सभापति नै लागेको आरोप लगाउँदै उक्त निर्णयमा आफ्नो असहमति रहेको वरिष्ठ नेता पौडेलले बताए । पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने अहिलेको प्रमुख आवश्यकता भए पनि पार्टीकै नेताहरुको गतिविधिका कारण त्यस्तो हुन नसकेको उनको भनाइ थियो ।

पार्टीमा अनुशासन र मर्यादाको आवश्यकतामाथि जोड दिँदै वरिष्ठ नेता पौडेलले नेताले कार्यकर्ताको र कार्यकर्ताले नेताको मूल्याङ्कन गर्नुपर्ने बताए । वर्तमान सरकार लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रमा लागेको उनले आरोप लगाए । पार्टीका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बीपी कोइराला, गणेशमान सिंह लगायतले बनाएको पार्टी पुरानै ढर्राबाट चल्न नसक्ने भएकाले काङ्ग्रेसले आफूलाई परिवर्तन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । केन्द्रीय सदस्य शङ्कर भण्डारीले जागरण अभियानले जनतालाई जागरुक बनाउने बताउँदै आगामी चुनावमा काङ्ग्रेस पहिलो पार्टी हुने दाबी गरे ।

काङ्ग्रेसको जागरण अभियानअन्तर्गत तनहुँको दुईवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय भेला सम्पन्न भएको छ । नगर तथा गाउँस्तरीय भेला जेठ १५ गते शुक्लागण्डकीको दुलेगौँडामा, जेठ १६ गते भानुमा, जेठ १७ गते रिसिङमा, जेठ १८ गते घिरिङमा, जेठ १९ गते देवघाटमा, जेठ २० गते आँबुखैरेनीमा, जेठ २१ गते म्याग्देमा, जेठ २२ गते बन्दीपुरमा, जेठ २३ गते भिमादमा र जेठ २४ गते व्यास नगरपालिकामा हुने काङ्ग्रेस तनहुँले जनाएको छ ।
डिसी नेपाल