७ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्माण सामग्रीको अभावले मध्यपहाडी लोकमार्गको काम प्रभावित

नेपालब्रिटेन डट कम्
३ जेष्ठ २०७६, शुक्रबार ०९:४२


– लक्ष्मीप्रसाद सापकोटा

निर्माण सामग्रीको अभाव र बेमौसमी वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डको स्तरोन्नतिको काम प्रभावित बनेको छ ।

लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य सुस्त भएको छ भने लुम्ले खण्डमा निर्माण सामग्रीको अभावमा कालोपत्र गर्ने काम नै रोकिएको हो ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डमा यस आवसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको थियो । पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि कास्कीको फेदी खण्डमा निर्माण सामग्रीको अभाव भएपछि निर्माण कार्य बुधबारदेखि रोकिएको छ ।

पर्वतको कुस्मा र कास्कीको हेम्जामा खानेपानीका पाइप तथा विद्युत्का पोल स्थानान्तरण गर्न समस्या भएपछि सोचेअनुसारको प्रगति हुन नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । नयाँपुलदेखि फेदी खण्ड निर्माण गरिरहेको श्रेष्ठ/दिवा/एपेक्स जेभीले दिएको जानकारीअनुसार कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने लुम्लेको ढावामा निर्माण सामग्री निकाल्न वन कार्यालयले रोकेपछि निर्माण सामग्रीको अभाव भएको छ । अहिलेसम्म ६ किलोमिटरभन्दा बढी सडक कालोपत्रका लागि बेस बिच्छ्याएर तयार पारेको तर थप ६ किलोमिटर कालोपत्र गर्न निर्माण सामग्रीको अभाव भएको छ । “हामी असार अगावै १२ किलोमिटरभन्दा बढी सडक कालोपत्र गर्ने लक्ष्यमा थियौँ”, कम्पनीका साइड इञ्चार्ज काशीराज बोहराले भन्नुभयो, “न कुटेको ढुङ्गा छ, न कुट्नका लागि ढुङ्गा नै पाइन्छ”, उहाँले भन्नुभयो, “द्रुत गतिमा काम भइरहेको अवस्थामा निर्माण सामग्रीको अभाव भएपछि दुई दिनदेखि काम नै स्थगित गरेका छौँ ।” उक्त खण्डमा अहिलेसम्म स्ट्रक्चरको काम करीब सकिएका कारण पिच गर्ने कार्य मात्रै बाँकी छ । निर्माण सामग्री सहज भएको अवस्थामा आगामी वर्षको हिउँदमै सबै काम सक्ने लक्ष्य रहेको साइड इञ्चार्ज बोहराले बताउनुभयो ।

गाउँपालिकाको स्वीकृतिमा निर्माण कम्पनी स्थानीय वन क्षेत्रबाट ढुङ्गा उत्खनन गरेको थियो । उक्त स्थानमा वडा कार्यालय भवन वा खेलमैदान बनाउने सहमति र गाउँपालिकालाई करसमेत बुझाएर ढुङ्गा उत्खनन हुँदै आएकामा वन डिभिजन ढिकुरपोखरीले वन क्षेत्रबाट उत्खनन रोक्न पत्र थमाएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुलाई निर्माणस्थल वरपर नै निर्माण सामग्रीको व्यवस्थापन गर्न कार्यादेश दिइएको हुन्छ । उक्त खण्डमा अन्यत्र सामग्री निकाल्ने स्थान नभएका कारण वन क्षेत्रमा असर नपर्ने गरी उत्खनन गर्न पहल भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना पर्वतका प्रमुख आशिष थापा मगरले बताउनुभयो ।

“निर्माण सामग्री अभावमा काम रोकिने अवस्था आएपछि गाउँपालिका र गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “छिट्टै समस्याको हल गरेर निर्माण कार्य अगाडि बढाउँछौँ ।” कम्पनीले पर्वत खण्डमा पर्ने अँधेरीखोलाको भिरमा निर्माण सामग्री निकाल्ने प्रयास गरेपछि कडा चट्टान फोड्न नसकिएका कारण बम विस्फोट गराउनुपर्ने अवस्था आएको छ । विस्फोटन गर्नका लागि जिल्ला सुरक्षा समितिसँग स्वीकृति लिएर प्रक्रिया अगाडि बढिरहेको छ ।

मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ्ग खण्ड २०७४ चैत महीनादेखि स्तरोन्नतिको काम शुरु भएको थियो । पर्वत खण्डमा हालसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको छ । प्रतिकूल मौसम र कुस्मा, डिमुवा, पातिचौर क्षेत्रमा खानेपानीका पाइप र विद्युत्का पोल स्थानान्तरण समयमा हुन नसकेका कारण निर्माण कार्य ढिलाइ भइरहेको छ । पर्वत खण्डमा निर्माण सामग्रीको भने अभाव छैन । लोकमार्गअन्तर्गत पर्वतको अँधेरीखोलादेखि मालढुङ्गासम्मको २४ किलोमिटरमा असारसम्ममा मालढुङ्गादेखि जिल्ला प्रहरी कार्यालय पर्वतसम्म आठ किलोमिटर सडक कालोपत्र गरिसक्ने लक्ष्यका साथ काम भइरहेको छ । खानेपानीका पाइप र विद्युत्का पोल व्यवस्थापन भएपछि यस खण्डमा पनि निर्माण कार्य तीव्र पार्न सकिने लामा कन्सट्रक्सनका साइड इर्ञ्चाज गोविन्द भुसालले बताउनुभयो ।

“कुश्माबजारमा बिजुलीका पोल र खानेपानीको पाइपका कारण सडक विस्तारका लागि डोजर लगाउन समस्या भएको छ”, उहाँले भन्नुभयो, “पोल र पाइपको व्यवस्थापन गरे सदरमुकामभित्रको सडकमा कालोपत्र गर्न सक्छ”, स्ट्रक्चरको काम ८० प्रतिशतभन्दा बढी सकिएको छ । केही भागमा पहरो काट्न र नाली बनाउने काम बाँकी रहेको उहाँको भनाइ छ ।

आयोजनाप्रमुख थापा मगरले कुस्माबजारको खानेपानीको पाइपलाइन स्थानान्तरणको काम आयोजनाले नै गरिदिने र पोल स्थानान्तरणको स्टिमेट नआएका कारण निर्णय हुन बाँकी रहेको बताउनुभयो । उहाँले निर्माण कार्यमा देखिएका अवरोधहरु हटाएर यसलाई सञ्चालन गरी सम्झौताभन्दा अगावै सम्पन्न गरिने विश्वाससमेत व्यक्त गर्नुभयो ।