८ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकाको मेरिल्यान्ड राज्यमा नेपाली मूलका उपमेयर

नेपालब्रिटेन डट कम्
३ जेष्ठ २०७६, शुक्रबार ११:०७

न्युयोर्क । अमेरिकाको मेरिल्यान्ड राज्यअन्तर्गत इन्डियन नगरपालिकाको उपनगर प्रमुखमा नेपाली मूलका किरण सिटौला निर्वाचित भएका छन्। मेरिल्यान्डको टाउन अफ इन्डियन हेड नगरपालिकाको उपमेयरमा सिटौला दोस्रो कार्यकालका लागि विजयी भएका हुन्।

मतका आधारमा पहिलो हुने मेयर, दोस्रो हुने उपमेयर, तेस्रो हुने काउन्सिलम्यान अर्थात नगरपरिषद् सदस्य हुने प्रक्रियाअनुसार उनी उपमेयर चुनिएका हुन्। उनको प्रतिस्पर्धामा ६ उम्मेदवार थिए। दोस्रो कार्यकालका लागि निर्वाचित सिटौलाले बौद्ध ग्रन्थ दोमाङ छोएर तथा बौद्ध पोसाक बख्खु लगाएर शपथग्रहण गरेका छन्। उनले पहिलो पटक सन् २०१५ मा उपमेयरमै निर्वाचित हुँदा नेपालको राष्ट्रिय पोसाक दौरासुरुवाल र ढाकाटोपी लगाएर शपथ लिएका थिए।

अर्को पटक निर्वाचित भए तराई भेगमा लगाइने धोती पहिरेर शपथ लिने बताएका छन्। सिटौलाले हिमाल, पहाड र तराईमा बस्ने नेपाली मिलेर बस्नुपर्छ, एक अर्काको संस्कार संस्कृतिको सम्मान गर्नुपर्छ भन्ने मान्यताअनुरूप आफूले हिमाली भेगमा लगाइने बख्खुमा शपथ लिएको प्रतिक्रिया दिएका छन्।

काठमाडौंको बूढानीलकण्ठ पढेका सिटौला उच्च शिक्षाका लागि २५ वर्षअघि अमेरिका आएका थिए। युनिभर्सिटी अफ मेरिल्यान्डबाट आईटीमा स्नातकोत्तर उनी हाल मेरिल्याडको आन्तरिक राजस्व विभागको शाखा प्रमुख छन्। उपमेयर निर्वाचित भएपछि उनले अब आफ्नै सहरमा अत्याधुनिक पुस्तकालय, नेपाली समुदायलाई व्यवसाय विस्तारमा सहयोग, नयाँ पुस्तालाई अमेरिकी मूलधारको राजनीतिमा ल्याउन सहयोग गर्नेलगायत योजना रहेको सुनाए।

साथै उनले केही समयमै नेपाल गएर स्थानीय जनप्रतिनिधिलाई यहाँको प्रणाली, बजेट, जनतासँग गरिने सहकार्यलगायत विषयमा अनुभव आदानप्रदान गर्ने योजना रहेको बताए। निर्वाचित भएको नगरपालिकामा सिटौला १५ वर्षदेखि बस्दै आएका छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले, पूर्वयुवराज पारस शाहका बालसखा उनी बाल्यकालदेखि नै अध्ययनमा अब्बल थिए।