८ बैशाख २०८१, शनिबार
Follow Us

बुद्ध जयन्तीको दिन पशु बध नगरिने

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०७६, शनिबार ११:५१

बुद्ध जयन्तीका दिन कुनैपनि पशुको बध नहुने भएको छ । २५६३ औँ बुद्ध जयन्तीको अवसरमा पशु कल्याण संघ नेपालले ललितपुर जिल्लाका मासु व्यवसायीहरुसँग अन्तक्रिया गरेको थियो । कार्यक्रममा राष्ट्रिय खड्गी समाज ललितपुरका अध्यक्ष अरोज कुमार खड्गीले सो घोषणा गरेका हुन् । गौतम बुद्धलाई अहिंसा, दया, करुणा तथा प्रेमको प्रतिकको रुपमा मानिने भएकाले उहाँको सम्मानमा कम्तिमा बुद्ध जयन्तीको दिन पशु बध नगर्ने निर्णय खड्गी समाजले गरेको हो, अध्यक्ष खड्गीले बताए ।

शुक्रबार ललितपुरको कुमारीपाटीमा भएको कार्यक्रममा पशु कल्याण संघ नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठले नेपालमा पशु कल्याण स्थापनाका लागि हामी सबैले पशुहरुप्रति असल व्यवहार गर्नुपर्ने बताईन् । सबै प्राणीहरु समान हुने हुँदा सर्बश्रेष्ठ प्राणी भएको नाताले हामी मानिसहरुले अबोध प्राणीहरुप्रति दयाभाव राख्नुपर्ने उनले बताईन् । पशुहरुले पनि जन्मदेखि मृत्यूपर्यन्त सहज जिवन व्यतित गर्न पाउनुपर्छ भन्दै बुद्ध जयन्तीको दिन पशु बध नगर्ने खडगी समाजको निर्णयले अत्यन्तै खुसी भएको उनले बताइन । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रतिनिधिहरु, पशु कल्याण संघका सदस्यहरु तथा खड्गी समाजका व्यक्तित्वहरुले गौतम बुद्ध र उहाँले फैलाएको शान्ति र अहिंसाको सन्देशको बारेमा चर्चा गरेका थिए ।