१५ बैशाख २०८१, शनिबार
Follow Us

आर्थिक भन्दा बौद्धिक लगानी नेपालमा आवश्यक — प्रोफेशर सूर्य सुवेदी

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७३, सोमबार ०८:१७

ब्रिटेनस्थित नेपाली प्राज्ञ तथा पेसाकर्मीले विदेशमा बसिरहेका नेपालीको ज्ञान र सीप नेपालको विकासमा प्रयोग गर्ने वातावरण बनाउन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

लन्डन उलविचस्थित साउथ लन्डन एकेडेमीमा शनिबार आयोजित कार्यक्रममा ब्रिटेनको लिडस विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले अहिले नेपालमा संकीर्ण राष्ट्रियता र सोचाइ हावी रहेको आक्षेप लगाए । ‘पैसाको मुठोमात्र होइन, ज्ञानको मुठो लिएर फर्कनेहरूलाई पनि स्वागत गर्ने वातावरण नेपालले बनाउनुपर्छ,’ उनले भने । उनले आफू स्वदेश फर्केर सकेको सेवा गर्न तयार रहेको पनि बताए ।

सुवेदीले मेची–महाकालीको सीमाभित्र मात्रै नेपाल राष्ट्रलाई संकुचित गर्न नमिल्ने बताए । बौद्धिक लगानी नेपालमा भित्र्याउने इच्छा नेपाल सरकारमा छ कि छैन भन्ने प्रश्न गर्दै उनले विदेशिएका नेपालीलाई निषेध गर्ने मनसाय नयाँ संविधानमा हुनु दु:खको कुरा भएको बताए । नयाँ संविधानमा संशोधन आवश्यक भएको जनाउँदै आफूले बुँदागत रूपमा संशोधनको मस्यौदा नेपाल पठाएको पनि उनले बताए ।

सोसाइटी अफ हाइली स्किल्ड नेप्लिज प्रोफेसनल्स यूकेले आयोजना गरेको ‘नेपालमा शान्ति तथा विकासका चुनौती र अवसर’ विषयक छलफल कार्यक्रममा बेलायत भ्रमणमा आएका मधेसी मामिलाका विश्लेषक तुलानारायण साहले नेपालमा संरचनात्मक तथा कार्यगत समस्या रहेको धारणा राखे । नेपाली समाजको विविधता राज्यमा नझल्कने संरचनागत समस्यालाई संविधानमार्फत सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै उनले कार्यशैलीमा फेरबदल नहुँदासम्म परिवर्तन अनुभूत गर्न नसकिने बताए । ‘राज्य भनेको बन्दुक र कलम चलाउने तथा पैसा बाँड्ने ठाउं हो, तर ती तिनै ठाउँमा एउटै समुदायको वर्चस्व रहेकाले अहिलेको समस्या देखिएको हो,’ साहले भने ।

सेन्टर फर नेपाल स्टडिज यूकेसँग आबद्ध अनुसन्धानकर्ता डा. चन्द्र लक्सम्बाले नेपाल अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको क्रीडास्थल बनेकाले नै सधैं अस्थिर रहिरहेको जिकिर गरे । भारत, चीन, अमेरिकालगायत मुलुकको नेपालमा रहेको स्वार्थको चर्चा गर्दै उनले राष्ट्रियता र एकता नै विदेशी चलखेलसँग जुध्ने एकमात्र उपाय रहेको बताए । डा. लक्सम्बाले गाउँघरमा रहेको स्थानीय अनौपचारिक सिकाइबाट प्राप्त ज्ञानलाई देश विकासमा लगाउन पनि सुझाव दिए ।

लन्डन स्कुल अफ इकोनोमिक्समा लैंगिक विषयमा अनुसन्धान गरिरहेकी डा. पुनम यादवले सशस्त्र द्वन्द्व सकिएको एक दशकपछि पनि समाजका विभिन्न क्षेत्रमा द्वन्द्वका असर कायमै रहेको बताइन् । अक्सफोर्ड विश्वविद्यालयसँग सम्बद्ध अनुसन्धानकर्ता डा. कृष्ण अधिकारीले गत दुई वर्ष नेपाल बस्दा आफूले चारैतिर सिन्डिकेट र मिडलम्यानको हालीमुहाली देखेको चर्चा गर्दै पदको दुरुपयोग ठूलो चुनौती रहेको बताए ।
Ekantipur