१३ बैशाख २०८१, बिहीबार
Follow Us

१७ औं गोर्खा कपको तयारी पूरा, युके बाहेक ५ देशका टिमले भाग लिने

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७६, आईतवार १६:३५

लण्डन । आगामी आइतवार हुने गोर्खा कपको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आयोजक तमुधिं युकेले आइतवार तमु भवन मिचेडमा आइतवार पत्रकार सम्मेलन गर्दै १७ औं गोर्खा कपको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा गोर्खा कप संयोजक पिताम्वर गुरुङले मुख्य ३२ र मेट्रान तर्फ १० गरि जम्मा ४२ टोलीले खेलमा सहभागिता जनाउने जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रतियोगितामा बेलायत बाहिरबाट समेत ५ टिम सहभागी हुन आउने जानकारी दिइयो । हल्याण्ड, आइसल्याण्ड, बेल्जियम, आयरल्याण्ड र हंककंगबाट सहभागिता हुने तमुधिंले जनाएको छ ।

पत्रकार सम्मेलनमा तमु धिं यूके अध्यक्ष नन्दजंग गुरुङले गोर्खाकपको सफलतासंग बेलायतको सिंगो नेपाली समुदायकै प्रतिष्ठा र हित जोडिएको भन्दै सहभागिता तथा सहयोगको लागि अपील गरे ।

प्रतियोगिताको मुख्य तथा भेट्रान दुवै विधामा पहिलो हुने टिमलाई नगद २५ सय तथा दोस्रो हुने टिमलाई नगद १५ सय पाउण्डसहित ट्रफी र सर्टिफिकेट प्रदान गरिनेछ । दुवै विधामा उच्च गोल स्कोरकर्ता र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।

स्थानीय मेयर , नेपाली दूतावास, ब्रिगेट अफ गोर्खा, एफए, लगायतका संघसस्था गरिरी २ सय जना अतिथिलाई कार्यक्रममा आमन्त्रण गरिएको छ ।

मे २६ तारिख आइतबार अल्डरसटको क्वीन्स एभिन्यूमा सञ्चालन हुने गोर्खाकपको सुरक्षा व्यवस्थाको लागि स्थानीय प्रहरीसंग छलफल भएको वताउँदै गुरुङले सो दिन दुई दर्जन भन्दा प्रहरी टोली सुरक्षाको लागि खटाइने जानकारी दिए ।

खेल शुरु हुनु अघि नेपाली सांस्कृति कार्यक्रम तथा गोर्खा व्याण्डले खुकुरी डान्सको प्रस्तुति दिने भएको छ । सो दिन नेपाली खाना, स्टल, नेपाली भाषाभुषाको प्रमुख आर्कषण पनि रहने बताइएको छ ।

खेलका क्रममा एनआरएन युकेले स्वास्थ्य सेवा प्रदान गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तमुधीं युकेका मिडिया संयोजक रोहित गुरुङले संचालन गरेको कार्यक्रममा तमुधीं युकेका पूर्वअध्यक्षहरु, संस्थाका आजिवन सदस्य लगायत पत्रकारहरुको बाक्लो उपस्थिति थियो । अल्डरशटमा आयोजना हुने खेलबाट संकलित रकम स्थानीय च्यारीटीलाई प्रदान गरिने आयोजनले जनाएको छ ।