१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘एनआरएन बहस’ मा हाम्रो संलग्नता छैन् : एनआरएन युके

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७६, आईतवार १९:४६

लण्डन । आगामी शनिवार अल्डरटमा आयोजना हुने एक अन्तरक्रिया कार्यक्रम विवादमा परेको छ । नेपालबाट संचालित एपी वान टेलिभिजन र वेलायतबाट संचालित एक समाचार प्रोटलको आयोजनामा हुने एनआरएन बहसमा गैरआवासीय नेपाली संघ (एनआरएनए) युके आयोजक नभएको प्रष्ट पारेको छ ।
संघका अध्यक्ष योग कुमार फगामीको अध्यक्षमा आइतवार लण्डनमा सम्पन्न बैठकले यो कार्यक्रमलाई संस्थागत रुपमा आर्थिक सहयोग नगर्ने निर्णय गरेको हो ।

संघका उपमहासचिव विनय अधिकारीले संघको नाममा आर्थिक संकलन गरेको आसंका उत्पन्न भए पछि संघको उक्त निर्णय आएको हो ।

सो बहस कार्यक्रमको लागि आर्थिक संकलनको लागि गैरआवासीय नेपाली संघ युकेको संलग्नता नरहेको बैठकले प्रष्ट पारेको छ ।

एनआरएन युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार बैठकले आगामी अगष्ट महिनाको पहिलो साता इटलिको रोममा आयोजना हुने १२ औं क्षेत्रीय सम्मेलनको लागि प्रतिनिधीहरुको चयन गर्न संघका केन्द्रीय सदस्य रामशरण सिमखडालाई संयोजक चयन गरेको छ ।

बैठकले एनआरएन युकेको आगामी सेप्टेम्वर महिनामा हुने ८ औं महाधिवेशनको लागि नविकरण तथा नयाँ सदस्यता प्रमाणिकरण गर्ने अधिकार अध्यक्ष फगामीलाई दिएको छ । फगामीको अध्यक्षतामा गठन हुने प्रमाणिकरण समितिमा रहने व्यक्तिहरु भने आगामी निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन् ।

यस्तै बैठकले संघको अधिवेशनको लागि सार्वजानिक सूचना जारी गर्ने निर्णय समेत गरेको छ ।
बैठकले संघको सदस्यताहरुको विवरणलाई व्यवस्थित गर्न र परिचयपत्र छपाईको लागि प्रति सदस्य १ पाउण्ड ४० पेन्स् दिने गरि एभ्रेष्ट मिडिया प्रा.लिलाई दिने निर्णय गरेको छ ।
बैठकले संघको नयाँ सदस्यता लिने अन्तिम मिति ३१ जुलाई साँझ ८ बजे सम्मको लागि तोके छ ।

बिहान ११ बजे शुरु हुने भनिएको बैठक ३ घण्टा ढिलो भएको बैठकले आगामी निर्वाचनको लागि निर्वाचन समितिको गठन गर्न भने सकेन् ।

निर्वाचन समिति गठन प्रकृयालाई बिभिन्न बाहना लम्बिदैजादा निर्वाचनको पारदर्शितामा आसंका उत्पन्न हुन थालेका छन् । यसअघि संघको मतदाता नामावली निर्वाचन समितिको रोहवरमा हुने प्रचलन थियो ।

पैसाँ नदिनु, दिएको भए फिर्ता लिनु

यसै बीच गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका महासचिव राज कुमार त्रिपाठीले संघको नाममा कसैले पैसा संकलन गरेको भए संघलाई सूचना दिन आग्रह गरेका छन् । त्रिपाठीले आइतवार साँझ नेपालब्रिटेन डट कमसंग कुरागर्दै भने एपी वान र २४न्युज प्रेशले एनआरएनए युकेको नाम जोडेर समाजमा आर्थिक संकलन गरेको भेटियो, आर्थिक संकलनमा संस्थाको संलग्नता छैन् । त्रिपाठीले कसैले एनआरएन युकेको लागि भनेर आर्थिक सहयोग गरेको भए फिर्ता लिन आग्रह समेत गरे । त्रिपाठीका अनुसार आयरल्याण्ड, स्कटल्याण्ड लगायतको क्षेत्रमा समेत चन्दा संकलन गरिएको भेटिएको छ ।