११ बैशाख २०८१, मंगलवार
Follow Us

११ वर्षपछि बढ्यो भिसा शुल्क

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७६, सोमबार ०३:५६

काठमाडौैं-सरकारले ११ वर्षपछि विदेशीका लागि भिसा शुल्क वृद्धि गरेको छ । सरकारले विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिँदै आएको छ । नयाँ दस्तुरअनुसार भिसा शुल्क ३० अमेरिकी डलर पु-याइएको छ । यसअघि उनीहरूले २५ डलर तिर्दै आएका थिए । त्यस्तै ३० दिनको बहुप्रवेशी भिसाको शुल्क ४० बाट ५० तथा ९० दिनको भिसा शुल्क सयबाट एक सय २५ अमेरिकी डलर पु-याइएको छ ।

पर्यटक भिसाको म्याद थप्न विगतमा प्रतिदिन दुई डलर लाग्थ्यो । अब तीन डलर लाग्नेछ । म्याद थप अवधिका लागि बहुप्रवेशी भिसा शुल्क विगतमा २० डलर रहेकोमा २५ डलर पु-याइएको छ । भिसाको म्याद सकिएर नियमित गर्नुपर्ने अवस्थामा अब एक दिनको पाँच डलर लाग्छ । पहिले यो शुल्क तीन डलर थियो । भिसा शुल्क वृद्धि नभएको करिब ११ वर्ष भएकाले समसामयिक बनाइएको अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले बताए । १ साउन ०६५ देखि भिसा शुल्क बढेको थिएन । गृह मन्त्रालयको प्रस्तावमा दुई साताअघिको मन्त्रिपरिषद्को बैठकले भिसा शुल्क बढाउने निर्णय गरेको हो । यो राजपत्रमा प्रकाशित भएदेखि लागू हुनेछ । नयाँ पत्रिकामा खबर छ ।